मानव अधिकार गणतन्त्रको सुन्दर पक्ष



२५ जेठ २०७५, बिराटनगर

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरमा १९ वटा प्रतिबद्धतामा हस्ताक्षर गरिसकेको अवस्थामा आयोगले सबै प्रतिबद्धता कार्यान्वयन गराउन पहल गरिरहेको बताएका छन् ।

जनअधिकार अभियान नेपालले आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मानव अधिकार रक्षाको सवालमा वर्तमान सरकारलाई समय दिनुपर्ने भन्दै आयोगको ऐन संशोधन हुनुपर्नेमा जोड दिएका थिए ।

नेपाल वार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसी भन्छन्, आस्था र विचारका कारण नागरिक पक्राउ पर्नु मानव अधिकार उलंघन हो ।

नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन हुन नदिनतर्फ राजनीतिक दल तथा अन्य सबै निकाय गम्भीर हुनुपर्ने बताएका थिए ।

प्रदेश नं. १ का महान्यायाधिवक्ता चुडामणि आचार्य, अभियान अध्यक्ष एकराज भण्डारी, नेकपा मोरङका नेता ऋषिराज पोखरेल लगायतले मानव अधिकार गणतन्त्रको सुन्दर पक्ष भएकाले यसतर्फ राज्य कमजोर बन्न नहुने धारणा ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्