
२५ जेठ २०७५, काठमाडौँ
यस वर्षको ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय ‘दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ ।
दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा सरस्वतीले पुर्याएको योगदानको मुल्यांकन गर्दै सन् २०१८ को अवार्ड उनलाई प्रदान गर्न लागिएको सरिता परियार ट्रष्ट फण्डले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
आगामी अगष्ट १५ मा रु पाँच लाख राशिको उक्त अवार्ड प्रदान गरिने ट्रष्टकी अध्यक्ष सरिता परियारले बताएकी छन् ।
बैतडीकी सरस्वतीले सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समय सम्म सामाजिक विसंगति, अन्यायविरुद्ध न्यायका लागि संघर्ष गर्दै आएकी छिन् ।
‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ सामाजिक रूपान्तरणका लागि सामाजिक अगुवा सुभास दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रियस्तरको पुरस्कार हो ।





