
२२ जेठ २०७५, काठमाडौँ
‘विश्व वातावरण दिवस’ मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘प्लास्टिक प्रदूषणमाथि प्रहार, सके पुनः प्रयोग नसके बहिष्कार’ भन्ने नाराका साथ वातावरणसँग सम्बन्धित विभिन्न सरकारी तथा गैह्रसरकारी संस्थाले कार्यक्रम गरिरहेका छन् ।
प्रधानमन्त्री केपी ओलीले यहाँ बिरुवा रोपेर मरुभूमिमा अक्सिजन पठाउनुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुरानो भवनअगाडि वृक्षारोपणपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
हरेक व्यक्तिले कम्तिमा पनि एउटा फलफूल रोप्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री भन्छन्, ‘प्रत्येक व्यक्तिले एउटा बिरुवा रोप्ने भन्नुको तात्पर्य एउटा मात्र रोप्नु होइन, कम्तिमा एउटा रोप्नु हो, अझ पनि फलफूलको विरुवा रोपे बढी लाभ लिन सकिन्छ ।’
यसबाट वातावरण पनि हराभरा हुने र पछि आम्दानी गर्न सकिने उनको भनाइ थियो ।
विभिन्न मन्त्रीहरूले पनि आआफ्ना मन्त्रालयअगाडि बिरुवा रोपेर वातावरण दिवस मनाएका छन् । नेपाल आर्मी, नेपाल प्रहरीका उच्च अधिकारी तथा मन्त्रालयका पदाधिकारीलगायतले पनि संयुक्त रूपमा सिंहदरबारभित्र वृक्षरोपण गरेका छन् ।





