
२२ जेठ २०७५, काठमाडौं
प्रियंका कार्की
नेपालकी चर्चित नायिका प्रियंका कार्की एक सफल नायिका हुन् । मिस टिनेज, मोडेल, भिजे हुदै थ्री लभर्सबाट उनले नेपाली चलचित्रमा कदम राखेकी हुन् । पहिलो फिल्मबाटै उनले पपुलर डेब्यु अभिनेत्री अवार्ड जितेकी थिइन् । आकर्षक जिउडाल, राम्रो नृत्य, अभिनय र बोल्ने कौशलताले उनलाई अहिलेकी सबै भन्दा व्यस्त नायिका बनाएको छ । उनी नेपाली कलाकारमध्ये सबैभन्दा बढी इन्स्टाग्राममा फलो गरिएको अभिनेत्री हुन् । उनले अभिनय गरेका चलचित्रहरुमा मिस्टर झोले, नाइ नभन्नु ल २, नाइ नभन्नु ल ३, नाइ नभन्नुल ४, छक्का पञ्जा , छक्का पञ्जा २, लिलिबिली, झोले र कोहलपुर एक्सप्रेस चलचित्र हिट भएका थिए । उनी म्युजिक भिडियोमा पनि उतिनै सक्रिय छिन् । प्रियंकाको आफ्नै आवाज र अभिनय रहेको स्वतन्त्र छु म गीतले युट्युवमा राम्रै स्थान पाएको थियो । उनले सर्वाेत्कृष्ट अभिनेत्री भएर दुई राष्ट्रिय अवार्ड जितेकी छिन् ।
नम्रता श्रेष्ठ
सानो संसार चलचित्र मार्फत नेपाली रजतपटमा पहिलो पाईला टेकेकी नायिका हुन् नम्रता श्रेष्ठ । नायिका नम्रता श्रेष्ठ अहिलेकी एक सफल नायिका हुन् । सुन्दर अनुहार र राम्रो अभिनयकी धनी नम्रताका मेरो एउटा साथी छ, नोभेम्बर रेन, फस्ट लभ, होमवर्क र क्लासिक जस्ता चलचित्र हिट छन् । उनी थोरै र गुणस्तरीय चलचित्र खेल्ने भएकाले उनका चलचित्र प्राय सफल छन् ।
साम्राज्ञीराज्य लक्ष्मी शाह
साम्राज्ञी नेपाली फिल्म रजतपटमा चर्चित नायिका हुन् । मोडलिङ क्षेत्रमा लागेकी उनी अनमोल केसीको जोडीको रुपमा ड्रिम्सबाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । पहिलो चलचित्रबाट निकै तारिफ कमाएकी नायिका अहिले सबैभन्दा महंगी नायिका मानिन्छन् । साम्राज्ञीले डेब्यु चलचित्रबाटै अवार्ड हात पारेकी थिइन् । उनका ड्रिम्स, ए मेरो हजुर २ र तिमी सँग जस्ता चलचित्र सुपर हिट छन् । कायरा र इन्टु मिन्टु लन्डनमा चलचित्र यहि वर्ष रिलिजको तयारीमा रहेका छन् ।
वर्षा राउत
वर्षा राउत एक सफल अभिनेत्री हुन् । मोडलिङको दुई वर्षे छोटो करिअरमा वर्षा राउतले पाएको सफलता लोभ लाग्दो छ । उनी म्युजिक भिडियो हुँदै नाइ नभन्नु ल ४ चलचित्रबाट नेपाली सिने क्षेत्रमा पाहिला टेकेकी थिइन् । डेब्यु चलचित्र सुपर हिट भएपछि वर्षाले फर्केर हेर्नु परेको छैन । सुन्दर अनुहार, चन्चलेपन, आकर्षक मुस्कान र कुशल अभिनयका कारण वर्षा अहिलेकी सबैभन्दा रुचाइएकी नायिकाहरुमा पर्छिन् । उनको नाइ नभन्नु ल ४, छक्का पञ्जा, छक्का पञ्जा २, जात्रा र मिस्टर झोले जस्ता चलचित्रमा सफल मानिन्छन् ।
केकी अधिकारी
केकी अधिकारी नेपाली चलचित्रकी व्यस्त नायिका हुन् । उनले मोडलिङ, विज्ञापन, म्युजिक भिडियो हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको पहिलो डेब्यु चलचित्र स्वर हो । उनले आइ एम सरी, मसान, वितेका पल र मेरो बेस्ट फ्रेन्ड जस्ता चलचित्रबाट आफ्नो परिचय बनाउन सफल भइन् । हालै उनले अभिनय गरेको कोहलपुर एक्सप्रेस निकै रुचाइएको थियो ।
ऋचा शर्मा
ऋचा शर्मा नेपाली चलचित्रकी एक सफल अभिनेत्री हुन् । मिस नेपालको टप टेनमा पुग्न सफल ऋचा अहिलेकी चर्चित तथा व्यस्त अभिनेत्री हुन् । मोडलिङ, भिजे, म्युजिक भिडियो हुँदै नेपाली चलचित्रमा पाइला टेकेकी उनले फस्ट लभ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । उनले अभिनय गरेको लुट चलचित्र व्यवसायिक हिसाबमा सबै भन्दा सफल चलचित्र मानिन्छ ।










