प्रधानमन्त्री ओलीको सगरमाथा चढ्ने इच्छा अपुरो



१९ जेठ २०७५, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा आरोही महिला पत्रकारलाई सम्मान गरेका छन् ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुलाई सम्मान गर्दै सगरमाथा चढेको मनोबललाई अन्य साहसी काममा लगाउन प्रधानमन्त्री ओलीले आह्वान गरेका थिए ।

उनले भने, “एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ ।”

“हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन, स्वास्थ्यले साथ नदिए जोखिम मोलेर जानु हुँदैन, स्वास्थ्य ठीक भएपछि पुनःआरोहणको प्रयास गर्नुपर्छ, सफलता पाइन्छ,” उनले भने ।

आफूलाई सगरमाथा आरोहणको रहर भए पनि युवावस्थामा राजनीति गर्दा भूमिगत बस्नुपरेको कारण स्वास्थ्य स्थिति नाजुक भई चढ्न नसकेको बताएका थिए ।

“मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो, भूमिगत र जेल जीवनले गर्दा पाइन, जब जेलबाट छुटेँ, पछि कमजोर स्वास्थ्यले दिएन”, प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, उपप्रधानमन्त्री ईश्वर पोखरेल, सूचना सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, नेकपाका महासचिव विष्णुप्रसाद पौडेललगायतले उनीहरुलाई सम्मान गरेका थिए ।

सफल आरोही पत्रकारमा रोजिता बुद्धाचार्य, रोशा बस्नेत, देउराली चाम्लिङ र कल्पना महर्जन रहेका थिए । प्रियालक्ष्मी कार्की भने स्वास्थ्यवस्थाको कारणले सात हजार मिटरबाट फर्केकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्