
१८ जेठ २०७५, विराटनगर
प्रदेशको सुरक्षा संरचना, अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आजबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु भएको छ ।
गृह मन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा प्रदेश नं. १ का १४ वटै जिल्लाको सुरक्षा अवस्था प्रस्तुत हुनुे तथा आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिका सम्बन्धमा छलफल हुने समेत बताइएको छ ।
गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले सबल सुरक्षा रणनीति तर्जुमा गर्न यो गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
गोष्ठीमा प्रदेश नं १ आन्तरिक मामिला कानूनमन्त्री हिक्कमत कार्की, गृहसचिव प्रेमकुमार राई, गृह मन्त्रालयका अन्य पदाधिकारी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धानका प्रमुख, नेपाली सेना, एक नंम्बर प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।





