राजधानीको इज्जत ज्याकरान्डा



१६ जेष्ठ २०७५, काठमाडौ / एटम शर्मा

यतिखेर राजधानीको अधिकांस स्थानमा शिरीष जस्तो देखिने एक किसिमको निलो फुल ढकमक्क फुलिरहेको छ ।

सडक किनारा होस या त सरकारी कार्यलयको प्राङ्गण, हस्पिटल होस या त खोला किनारा जताततै यो निलो रङ्गको फुलले सजिसजाउ देख्न सकिन्छ ।

धुलो, धुवाँ र फोहोरमैलाको दुर्गन्धले आक्रान्त काठमाडौमा यो फुल फुलेर केही हदसम्म मोहक देखाउन खोजिरहेको झल्को समेत पाउन सकिन्छ । माक्स् लगाएर हिड्न बाध्य राजधानीका मानिसहरु माक्स् खोलेर यो फुलको सुगन्ध लिदै फोटो खिच्न झुम्मिएको देख्न सकिन्छ ।

वसन्त रितुमा मात्रै फुल्ने यो निलो रङ्गको फुलको नाम हो ज्याकरान्डा । धेरैले यसलाई शिरीष हो पनि भन्ने गर्दछन तर खासमा यो शिरीष भने हैन । पारिजातको शिरीषको फुल नामक उपन्यासमा यो फुललाई शिरीष भनिएकाले धेरैजसो यो शिरीष नै हो भनेर झुक्किएको पाइन्छ ।

मुल थातथलो मध्य र दक्षिण अमेरिका रहेको यो ज्याकरान्डा ब्राजिल हुँदै यतिबेला सन्सारभरी फैलिएको छ । भारत हुँदै नेपाल भित्रिएको यो फुल विशेष त तत्कालीन दरबारियहरुले आफ्नो दरबार वरपरको बगैंचा सजाउन ल्याएका थिए । यो फुल नेपाल भित्रिएको करिब १०० बर्ष जति भइसकेको पाइन्छ ।

पहिले ज-जस्ले यो फुल नेपालमा ल्याए तिनीहरुलाई पनि यसको नाम थाहा थिएन । त्यतिबेला दरबार सजाउनको लागि भनेर ल्याइएको यो फुल दरबारहरुमा रोपियो । झट्ट हेर्दा सानो भंगेरा चरा जस्तो देखिने यो ज्याकरान्डालाई नेपालमा शिरीष भनेर भन्न थालियो ।

भारतमा कतैकतै यो फुललाई ज्याकरान्डा नभनेर निलमोहर वा निलमोर पनि भन्ने गर्दछन । भंगेरो जस्तो फुल देखेर काठमाडौका नेवारहरु यो फुललाई नेवारीमा “चखुङ्चा स्वा ” पनि भन्ने गर्दछन ।

बैज्ञानिकहरुले यसलाई Jacaranda minosifolia अर्थात शिरीष पाते भंगेरी फुल भनेर नामकरण गरेका छन् । शिरीष Minosa जात अन्तर्गत पर्ने फुल हो भने शिरीष पाते फुल अर्थात ज्याकरान्डा Minosifolia जात अन्तर्गत पर्दछ ।

खासमा शिरीष ८/१० प्रकारको हुन्छ । कुनै पहेलो , कुनै रातो अनि कुनै फिक्का निलो । शिरीष जस्तै देखिने हुनाले नै यो ज्याकरान्डालाई पनि बैज्ञानिकहरुले शिरीष पाते ज्याकरान्डा भनेर भन्ने गरेका छन् । शिरीषको सबै फुल रेशमको झै हुन्छ तर ज्याकरान्डा निलो हुन्छ ।

वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठका अनुसार विभिन्न पौराणिक ग्रन्थहरुमा शिरीषको फुलको उल्लेख गरेको पाईन्छ । आयुर्वेदमा पनि औषधिको निम्ति शिरीष कै खोजी गरेको पाहिन्छ । तर, आयुर्वेदले मागे अनुसार औषधि बनाउन शिरीषको फुल माग्दा यो ज्याकरान्डा लगियो भने औषधिको रुपमा प्रयोग हुँदैन । त्यसैगरि पुजापाठमा शिरीषको फुल माग हुँदा ज्याकरान्डा लगियो भने यसको कुनै अर्थ रहदैन । श्रेष्ठ भन्छन् यो ज्याकरान्डा फुललाई कुनै पुजाआजामा प्रयोग गरिएको पनि देखिदैन ।

आखिर जे जस्तो भएता पनि शिरीष जस्तो देखिने वसन्त रितुको शोभा यो ज्याकरान्डा फुलले काठमाडौको मुहार फेरेको देख्न सकिन्छ । जसरी जापानमा साकुरा फुलेर साकुरामय जापन बनाउछ अनि लाखौ जापानी र विदेशीहरुको मन जित्छ । त्यसैगरी काठमाडौमा पनि अब प्रतेक सडकहरुको किनारामा , खाली सरकारी जग्गामा, सरकारी कार्यलयहरुको प्राङ्गणमा त्यसैगरी बागमती, बिष्णुमति लगाएत अन्य नदीहरुको किनारामा ज्याकरान्डा रोपेर वसन्त रितुमा ज्याकरान्डामय काठमाडौ बनाउनु पर्छ ।

 

काठमाडौको ज्याकरान्डामा रमाउदै फोटो खिच्न र समय बिताउन आन्तरिक तथा वाह्य पर्यटकहरुको भिड लाग्ने बनाउन सकेको खण्डमा साच्चै काठमाडौलाई सुन्दर नेपालको सुन्दर राजधानी भन्न मिल्ने हुने थियो । अनि सबैले दिल खोलेर गर्बको साथ भन्ने थिए कि राजधानीको इज्जत ज्याकरान्डाले धानेको छ । सबैको बोली यही हुने थियो कि राजधानीको शोभा भनेकै ज्याकरान्डा हो ।

प्रतिक्रिया दिनुहोस्