
१४ जेठ २०७५, काठमाडौँ
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् ।
जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’
गोरेका अनुसार विमानबाट प्रहरीकै पास प्रयोग गरी तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा र्पुयाइने सुन उनले अनकूल समयमा बाहिर निकाली भरियामार्फत तोकिएका स्थानमा पठाउँथे । यसबापत खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँ बुझ्थे ।
आफू तस्करीमा सघाउने तल्लो तहको मानिस भएको भन्दै गोरेले आफूभन्दा माथिका नाइके, प्रहरी उच्च अधिकारी र दलका ठूला नेता पक्राउ परे मात्र सुन तस्करीको असली कुरा पर्दाफास हुने बयानमा उल्लेख गरेका छन् । ती व्यक्तिको नाम भने उनले खुलाएका छैनन् ।





