
१४ जेठ २०७५, काठमाडौं
एक जना सशस्त्र प्रहरी कर्मचारीले एटीएमबाट पैसा निकाल्न जाँदा ३० हजार रुपैयाँ नगद एटीएम बुथमा भेट्टाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकको रुपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपरान्ह काठमाडौको नयाँ बानेश्वर स्थित एक एटीएमबाट रकम निकाल्न खोज्दा त्यहाँ उनले उल्लेखित रुपैयाँ भेट्टाएका थिए ।
उनले ग्लोवल आइएमई बैंकको एटीएम मेशीन बाहिर सो रकम भेटेका थिए । उक्त रकम श्रेष्ठ अघिको एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ ।
निज सशस्त्र प्रहरी जवान श्रेष्ठले सो रकम आईतबार ग्लोवल आइएमई बैंक नयाँ वानेश्वरका शाखा प्रवन्धक शुशील कुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाईदिन आग्रह गरेका छन् ।





