प्रतिकित्ता २८० रुपैयाँका दरले नेपाल बैंकको शेयर निष्काशन हुँदै



१२ जेठ २०७५, काठमाडौँ

सरकारी स्वामित्वकाे नेपाल बैंक लिमिटेडले प्रतिकित्ता २८० रुपैयाँका दरले एफपीओ (थप सार्वजनिक निष्काशन) शेयर ल्याउने भएको छ ।

बैंककाे बिहीबार बसेकाे सञ्चालक समितिको बैठकले प्रतिकित्ता २८० रुपैयाँका दरले एफपीओ ल्याउने निर्णय गरेको हो । बैंकले अंकित मूल्य रू १ सयमा १ सय ८० रुपैयाँ प्रिमियम थपेर एफपीओ ल्याउने प्रस्ताव गरेको जनाइएकाे छ ।

तर बैंककाे उक्त निर्यललार्इ पुँजी बजारकाे नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिनुपर्नेछ । बैंककाे वित्तीय अवस्था, दाेस्राे बजारमा शेयरकाे मूल्य र अन्य सूचक हेरेर बोर्डंले कति रुपैयाँमा एफपीओ ल्याउन अनुमति दिने वा नदिने भन्ने निर्णय गर्नेछ ।

यसअघि नेपाल बैंकले फागुन २५ गते एफपीओ जारी गर्ने विशेष प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको थियो । साे सभाले एफपीओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकले नेपाल सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८०० रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । एफपीओपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । एफपीओको प्रिमियमबाट आएको पैसा जगेडा कोषमा जानेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल बैंकले २ अर्ब ५६ करोड ७७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५७ पैसा रहेको यस बैकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ३१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्