
०४ जेठ २०७५, युएई
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको दासढुंगामा दुर्घटना भै निधन भएको २५ औं स्मृति दिवस युएईमा पनि मनाइएको छ । प्रवासी नेपाली मञ्च आवुधावी राज्य कमिटी, सारजाह राज्य कमिटी र फुजेरा राज्य कमिटीले अलग-अलग कार्यक्रम गरेर नेताद्वयको तस्बिरमा माल्यार्पण गर्दै उहाँहरु प्रती श्रद्धाञ्जली दिएर स्मृति दिवस मनाएका छन् । यहि अवसर पारेर दुइ ठुला पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताको खुशीयालीमा दीप प्रज्वलन पनि गरिएको छ ।
आबुधावी स्थित नमस्ते ट्राभल्समा भएको कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेल, महासचिव भेषराज ढकाल, राज्य कमिटी उपसंयोजक विपिन सापकोटा, सचिव कुबेर लुइँटेल लगायतका उल्लेख उपस्थितिका बीच कार्यक्रम भएको थियो ।
कार्यक्रममा पार्टी एकीकरण अहिलेको आवश्यकता रहेको र मदन भण्डारीको सपना आंशिक पूरा भएको मञ्चका युएई अध्यक्ष श्याम कंडेलले बताउनुभयो । नेपालका बामपंथीहरुलाई समेटेर एउटा विशाल कम्युनिष्ट पार्टी निर्माण गर्दै समाजवादतर्फ अगाडी बढ्ने मदन भण्डारीको सपना उहाँको निधन भएको २५ वर्षपछि बल्ल पूरा हुँदै गएको छ । नेपाली कम्युनिष्ट आन्दोलन र संगठन निर्माणमा मदन भण्डारीको योगदान बारे चर्चा गर्दै अब बनेको शक्तिशाली कम्युनिष्ट पार्टीको सरकारले जनतामा सुखानुभूती गर्ने गरी समृद्धि हासिल गर्ने र प्रवासमा कडा परिश्रम गरेर परिवार पाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास रहेको मञ्चका युएई अध्यक्ष कंडेलले बताएका छन् ।
शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी बनेको र अब देशले मुहार फेर्न उचित समय आएको भन्दै युएईमा रहेका कम्युनिष्ट कार्यकर्ता, आम नेपाली र व्यवसायीहरुमा खुशीयाली छाएको भन्दै हतारमा कार्यक्रम तय गरेपनि उल्लेख्य उपस्थिति रहेको आबुधावी राज्य कमिटी उपसंयोजक बिपिन सापकोटाले जानकारी गराए । यसैगरी सारजाह राज्य कमिटी अध्यक्ष याम पुरकोटीको सभापतित्व तथा सचिव घनश्याम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा प्रवासी नेपाली मञ्च युएईका पुर्व अध्यक्ष प्रकाश कोइराला, सदस्य बाबुराम सापकोटा, कृष्ण आचार्य, सल्लाहकार कृष्णबहादुर ढकाल, जिफन्ट अध्यक्ष रामेश्वर भेट्वाल, समाजसेवी पिताम्बर पाण्डे, राधा ढकाल लगायतले मदन भण्डारीको स्मरण गर्दै पार्टी एकताको स्वागत तथा शुभकामना व्यक्त गरे ।
युएईको पहाडी राज्य फुजेरामा पनि मदन-आश्रित स्मृति दिवशमा दीप प्रज्वलन गरेर पार्टी एकताको स्वागत तथा शुभकामना व्यक्त गरिएको प्रवासी नेपाली मंच फुजेरा राज्य कमिटीका सचिव मेघु कंडेलले जानकारी गराए ।