
०४ जेठ २०७५, काठमाडौँ
आजदेखि नयाँ युगको शुरुवात भएको नव गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षमण्डलका सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । हिजो राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
हिजो ५ बजे राष्ट्रिय सभा गृहमा एमाले र माओवादी केन्द्र मिलेर नयाँ पार्टी नेकपा (नेपाल कम्युनिस्ट पार्टी ) बनेको छ । उक्त पार्टीको अध्यक्षमण्डलका सदस्य प्रचण्डले अब क्रान्ति गर्ने दिन सकिएको नयाँ युगको शुरुवात भएको दाबी गरेका हुन् ।
प्रचण्डले पार्टी एकता घोषणा सभामा बोल्दै आजको दिन भनेको नेपाली कम्युनिष्टहरुको लागि स्वर्णिम ऐतिहासिक दिन भएको पनि बताए । पार्टी र जनताले आफुलाई नेताको ठाउँमा राखि दिएको दाबी गर्दै ‘जनता र तपाई नेताहरुले हामीलाई अध्यक्षको हैसियत दिनुभएको छ । हामी राष्ट्र र जनताको पक्षमा उभिने संकल्प गर्छौ ।’-प्रचण्डले भने ।
निरन्तरतामा क्रम भंग गर्नेमा आफ्नो जीवन पर्दै आएको भन्दै र ‘यस्तो अवस्थामा मलाई कहिलेकाँही मैले केही कमी गरेको जस्तो पनि लाग्छ । हुनत् यसरी मैले क्रम भंग गर्दा देशले कताकता दुःख पनि पाएको छ ।’
‘अब न एमाले रह्यो न माओवादी यहाँ नयाँ यौगिक बनिसकेको छ, हाईड्रोजन र पानीको प्रशंग निकाल्दै प्रचण्डले भने। पार्टीले अब सधैं नेपाली भएर काम गर्ने र गौरव गर्ने माहोल बनाउने समेत दाबी गरे । ‘आजको दिन कहिल्यै नबिर्सिने दिन भएको छ ।’ प्रचण्डले भने,
भोली नै पार्टी एकता घोषणा गर्ने प्रस्ताव पार्टीको अध्यक्षको हैसियतले आफुले गरेको दाबी गर्दै प्रचण्डले भने, ‘ आजको ऐतिहासिक दिन आफ्नो प्रस्ताव अनुसार आएको हो ।’





