कुलपतिद्वारा हाचेकालीको ‘पृथ्वी सवाई’ लोकार्पण



काठमाडौँ, २९ वैशाख ।

चक्रव्यूह सञ्चेतना अभियानका प्रर्वतक कवि सुरेश हाचेकालीको तेस्रो कविता कृति ‘पृथ्वी सवाई’ शनिबार काठमाडौँमा नेपाली वाङ्मय परिषद् र रावासावा प्राज्ञिक समाजद्वारा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लोकार्पण गरे । सो अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठान साहित्यकारलाई परिचयपत्रको व्यवस्था गर्ने तयारीमा लागेको सुनाउँदै प्रज्ञाको योजना सफल भएमा नेपालका कुनै पनि लेखकले गर्वका साथ आफ्नो परिचय देखाउने दिन आउने बताए ।

प्राज्ञ श्रवण मुकारुङले हाचेकालीको कवितामा मिथकहरूको सान्दर्भिकीकरण लोभलाग्दो गरी प्रस्तुत भएको उल्लेख गरे । उनले भने, ‘यो कवि हाचेकालीको फरक विशेषता हो ।’ कार्यक्रममा कवि तथा निबन्धकार मोमिला जोशीले र समालोचक डा.तारालाल श्रेष्ठले लोकार्पित कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए ।मोमिलाले कविताकर्म जटिल विषय भएपनि विगत दुई दशकदेखि निरन्तर काव्यसाधनमा समर्पित रहनु हाचेकालीको शक्ति भएको भन्दै उक्त कर्मले नै कवि हाचेकालीले उत्कृष्ट कविताहरू जन्माइरहेको विचार व्यक्त गरिन् । उनले थपिन्, ‘सुरेशले आफ्ना कवितामा पर्यावरणीय सङ्कट र महिला अधिकारका विषयलाई ग्रामीण बिम्बमार्फत सटिक ढङ्गले प्रस्तुत गरेको पाइन्छ ।’
डा. श्रेष्ठले सुरेशका कवितामा मृत्युचेतनामा समेत प्रगतिशीलता भेटिने उल्लेख गर्दै सीमान्तकृत समुदायका आवाज उनका कवितामा भेटिने बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम् परिषद्का अध्यक्ष प्राज्ञ शशी लुमुम्बूले हाचेकाली अब्बल कवि भएको धारणा राखे । उनले भने, सो कुराको आज पुष्टि भएको छ ।’ कवि मञ्जुलले हाचेकाली आफ्नो भविष्य र आफू उनको इतिहास बताए ।
कार्यक्रममा बम कवि जसराज किराती, बम बानिया, कृतिका प्रकाशक घनश्याम पोखरेल, गीतकार टीका चाम्लिङ लगायतले बोलेका थिए । यसअघि उनका ‘सीमान्त आमाहरू’ र ‘चक्रव्यूह नगरमा अभिमन्यू’ दुई कविताकृति र ‘ऐकिक चक्रव्यूह समालोचना’ नामक समालोचनात्मक कृति प्रकाशित छन् । लोकार्पित सङ्ग्रहमा उनका ३२ वटा कविता समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्