
२४ वैशाख २०७५ काठमाडौं
आईतबार राती सशस्त्र प्रहरी बलले ८ जना डिआईजीको सरुवा गरेको छ । जबकी गृहमन्त्रालयले गरेको मन्त्रीस्तरीय उक्त सरुवा त्रुटिपूर्ण देखिएको छ ।
गृहमन्त्रालयले आईतवार सांझ गरेको सरुवा अनुसार डिआईजी सुरज कुमार श्रेष्ठ महानिरीक्षकको सचिवालयमा, बावुराम पाण्डे मद्दती सेवा निर्देशनालयमा, खड्ग राई महानगरीय सशस्त्र प्रहरीको कार्यालयमा, बसन्त कुमार बानिया कार्य विभाग र मन्दिप श्रेष्ठलाई पुर्व क्षेत्रस्थित बराह बाहिनीको बाहिनीपतिमा सरुवा गरेको छ ।
त्यसैगरी डिआईजी चिरन्जीवी अधिकारी पश्चिम क्षेत्रस्थित मुक्तिनाथ बाहिनीको बाहिनीपतिमा,नगेन्द्र थापा सुदुरपश्चिमस्थित वैद्यनाथ बाहिनी र राजुराम सुवाललाई मध्यपश्चिमस्थित महेश्वरी बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । गृहमन्त्रालयले गरेको सरुवा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको सिफारीसमा भएपनी त्रुटिपूर्ण भएको खुलासा भएको छ ।
मद्दती सेवा निर्देशनालयमा शसस्त्र प्रहरीको प्रवक्ता समेत रहेका डिआईजी बावुराम पाण्डेलाई सरुवा गरिएको छ । जवकी सशस्त्रमा उक्त निर्देशनालयमा डिआईजीको दरबन्दी नै कायम छैन् । उक्त निर्देशनालयको प्रमुख एसएसपी रहने व्यवस्था सशस्त्रमा छ । उक्त निर्देशनालयमा यसअघि डिआईजी खडानन्द चौधरीलाई खटाइएको थियो । हाल उनि एआईजीमा बढुवा भइसकेका छन् । बढुवा खाली भन्दै डिआईजी पाण्डेलाई उक्त निर्देशनालयको प्रमुख बनाइए पनि उनको सरुवा भने नियमले अवैधानिक देखिन्छ ।
हाल सिमा विभागमा दुई जना डिआईजी र कार्य विभागमा एक जना डिआईजीको दरबन्दी सशस्त्रमा खाली हुँदाहुंदै मद्दती सेवा निर्देशनालयमा पाण्डेलाई सरुवा गरेपछि सशस्त्रमा सवै चकित परेका छन् ।
सशस्त्रका एक डिआईजीका अनुसार ‘अन्य विभागमा दरबन्दी खाली हुँदाहुंदैै दरबन्दी नै नभएको ठाउंमा सरुवा सिफारीस गर्नु नेतृत्वको कमजोरी हो, यसमा गृहमन्त्री र गृहसचिवलाई पनि झुक्काउने काम भएको छ ।’





