धुलिखेल नगरपालिकामा पहिलो नगर युवा परिषद भेला



२५ बैशाख २०७५, काभ्रे

धुलिखेल नगरपालिकाले पहिलोपटक नगर भेला आयोजना गरी नगरपालिका स्तरीय युवा परिषद गठनको तयारी गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित प्रथम नगर भेलामा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नेपालकै पहिलो नगरभेला धुलिखेलमा आयोजना गरेकोमा नगर प्रमुखलाई धन्यवाद दिए । भिजन भएको व्यक्तिले विकासको मूलधारमा युवा परिचालनमा जोड दिनुपर्ने बताउँदै केहि गर्छु भन्ने युवाहरुलाई परिषदले सहयोग गर्ने बताए । युवालाई गुणस्तरी शिक्षा, रोजगार तथा उधमशिलता, हरेक क्षेत्रमा नेतृत्व विकास तथा स्वस्थ्य रहनको लागि खेलकुद, योगा गर्नुपर्नेमा जोड दिए । विगतमा कर्मचारी नेतृत्वमा भएका अधिकांश कामहरु पारदर्शी नभएको भन्दै देश समृद्द बनाउन युवाहरुले सामाजिक काम गर्नुपर्नेमा जोड दिए ।


नगरप्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठले आफ्नो कार्यकालमा धुलिखेल नगरपालिकालाई देशकै नमूना नगरपालिका बनाउने बताउँदै नगर भित्रको गरिवी हटाउन नगरले जोड दिने बताए । युवा, महिला, दलित, जनजाति र अपांगलाई ज्ञान सीपको विकास गरी प्रत्येक वर्ष ७०० लक्षित व्यक्तिलाई तालिम दिई उधमशीलताको लागि आवश्यक अनुदान समेत उपलब्ध गराउने अभियानमा नगरपालिकाले योजना बनाएको बताए । कार्यक्रमको उद्देश्य पवित्र भएपनि लागु गर्नेमा ईमान्दारिता भएनभने योजना सफल नहुने बताउँदै ईमान्दारीपूर्वक काम गर्नेलाई पैसाको चिन्ता नगर्न अनुरोध समेत गरे । ज्ञानहुने सँग श्रम नहुने र श्रमहुने सँग ज्ञान नहुने समस्या अन्त्य गर्न ज्ञान र सिप भएको युवा बनाई उधमशिलताको विकासमा सहयोग गर्ने बताए ।


सामाजिक विकास शाखा प्रमुख विदुर गौतमले संचालन गरेको कार्यक्रमको अध्यक्षता नगरप्रमुख अशोककुमार ब्यान्जु श्रेष्ठ, प्रमुखअतिथि युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र अतिथिहरु नगरपालिका प्रशासकीय अधिकृत महेश बराल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले पनि शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्