गोली हानी मार्न खोजिएका युवासन्त श्रीनिवासाचार्य हिडडुल गर्न थाले (भिडियो सहित)



२२ बैशाख २०७५, काठमाडौं

सुनसरी जिल्लाको सप्तकोशी किनारमा रहेको आश्रममा बस्दै आएका युवासन्त श्रीनिवासाचार्यलाई विराटनगरमा केहि हप्ता अघि गोली हानियो । विराटनगरमा रहेको सार्वजनिक कुटीको पुनर्निर्माण गर्न आयोजना गरिएको महापुराण शुरु हुनु भन्दा केहि घण्टा अघि उनलाई मार्ने कुचेष्टा गरे । अपराधीको गोलीले उनको छात्ती छेड्यो तर उनलाई भगवानले बचाए । अहिले स्वास्थ्यमा सुधार हुँदै गएको छ । उनी सामान्य हिडडुल गर्न र अलि अलि बोल्न सक्ने भएका छन् ।

काठमाडौंमा आएको मौका पारी उनको स्वास्थ्य स्थिति बुझ्न परिवर्तन खबरको टोली गौशाला बैन्कटेश्व मन्दिरमा पुग्यो । वार्तालाप गर्नै लाग्दा युवासन्तले गुरुको अनुमति बिना नबोल्ने बताए । हामीलाई सम्पर्क गराउने धार्मिक अभियन्ता रामेश्वर थापाको सत्प्रयासले युवासन्तसँग कुरा गर्न सफल भयौँ । श्रीनिवासाचार्यसँगको छोटो कुराकानीको सार संक्षेप :

हाम्रो प्रश्नमा श्रीनिवासाचार्यले भने,’ विहानको करिव २ बजेतिर पिसाब गरी चर्पीबाट फर्कदै गर्दा २ जना नेपालीमा बोल्ने नाकाबधारीहरुले तथानाम गाली गरे । उनीहरुको गाली सुन्दै मेरो होसहवासै उडिसकेको थियो । म बोल्नै सकिन, मेरो आवाज नै आएन, अनि  एक्कासी मेरो छात्तिमा प्रहार भयो । मेरो छात्तिबाट आएको रगत पिच्केरा हान्दै गर्दा थिचेर रोकेको याद छ।’ त्यसपछि हस्पिटलको बेडमा भएको थाहा छ ।

अति पीडादायी स्वरमा अति भावुक हुँदै भने ,’ यो सत्य र असत्य बिचको लडाई हो । म गाईको रक्षा गर्नुपर्छ भन्ने अभियानमा छु। धार्मिक र रास्ट्रीय जनावर गाईलाई मारकाट गर्नु हुँदैन भन्ने मेरो धारणा हो  । ‘आध्यात्मिक चिन्तनबाट भौतिक विकासको अभियान’मा हिडेको मान्छेलाई जीवन निर्वाह गर्न २/४ पैसाको निमित्त युवा, जवानहरुले गोली हान्नु पशुवतकर्म हो। कम्तिमा मानवताको हिसाबले पनि त सोच्नु पर्छ नि ?’

उनको आश्चर्यता थियो,’अपराधी पक्राउ परेन भने हिड्नै गाह्रो भो। प्रहरी र सेनाले यत्ति काम नि गर्न सक्दैन ?

अन्तिममा आँखाभरि आँशु पार्दै भने,’उहाँहरुकै (शुभचिन्तक र भक्त) आर्शिवादले म आज जीवित छु। हजुरहरुले ठाउँ-ठाउँमा बत्ती बालेर, प्रार्थना गरेर मलाई बचाउनु भयो।’

घटनाबारे हामीले नेपाल प्रहरीका मोरङ ईन्चार्ज एस.पी. अरुणकुमार बिसिसँग सम्पर्क गर्यौं । उनले भने, ‘प्रहरी प्रधान कार्यालय र जिल्लाकै टोलीले विशेष अनुसन्धान गरिरहेको छ ।’ अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नमा, ‘उनले भने – हामीले शंकाश्पद ५/६ जना समातेका थियौँ, अहिले २ जना थुना मै छन् ।हामी सत्यको नजिक पुग्दै छौँ तर कहिले सार्वजनिक गर्न सकिन्छ भन्न सक्दिन । २/४ दिनमा नि हुन सक्छ, केहि समय पनि लाग्न सक्छ ।’

घटनाबारे हामीले धार्मिक अभियन्तासँग पनि कुरा गर्यौं  । उनीहरुको भनाई जस्ताको तस्तै :

यो सिङ्गो सनातन धर्म माथिको आक्रमण हो : रामेश्वर थापा

सचिव, विश्व हिन्दु महासंघ तथा अध्यक्ष, भगवती मानव कल्याण राष्ट्रिय परिषद नेपाल

श्रीनिवासाचार्यलाई गोली हान्नु भनेको सिङ्गो सनातन धर्म माथिको आक्रमण हो । यस्ता सन्त महन्तहरुलाई गोली प्रहार हुनु हुदैन, जुन व्यक्ति लोभ लालच, माया, ममताबाट टाढा बसी आफ्ना वस्त्र समेत परित्याग गरी गेरु वस्त्र प्रयोग गरिरहेका छन् । उनीहरुलाई आक्रमण गर्नु भनेको राष्ट्रवादी, सनातनवादी, ॐकार परिवारमाथिको हस्तक्षेप र आक्रमण हो । यो हामीलाई सह्य छैन । राज्यले अविलम्व अपराधी पत्ता लगाई अपराध गर्ने-गराउने व्यक्तिलाई कानुनी कठघरामा राख्नुपर्छ ।

हिन्दू धर्मलाई राज्यले एलर्जीको रुपमा लियो : दीपेन्द्र भण्डारी, भक्त तथा अनुयायी

राज्यले चाँहदा सुन काण्डमा माथिल्लो तहका प्रहरी अधिकृतहरु समेत समाउन सफल भयो । तर प्रष्ट नेपाली बोलेको । होचो होचो कालो वर्णको व्यक्ति, भनेर पहिचान हुँदासम्म सरकारले अपराधीलाई सार्वजनिक गर्न चाहेको छैन । स्वयम राज्यनै सनातन हिन्दु धर्म भन्ने वित्तिकै एलर्जीको रुपमा लिन थालेको छ । अनि कसरी आम सनातनीहरुले राज्यबाट सुरक्षाको प्रत्याभुत गर्न सक्छन् ?

भिडियोमा सुन्नको लागि यो लिंक खोल्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्