प्रधानमन्त्री ज्यु ! मोदीलाई के का लागि नागरिक अभिनन्दन ?



काठमाडौं, १९ वैशाख/ एटम शर्मा

प्रधानमन्त्री ज्यु, के को लागि  गरिदै छ नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन ? के को खुसियालीमा गरिदैछ मोदीको जयजयकार ? के को उल्लासमा गरिदैछ मोदीको नेपाल आगमनमा दीपावाली ?

त्यो दुखद दिन, त्यो कष्टकर समय जतिबेला हामि भूकम्पले छेदविच्छेद भएको हाम्रो आलो घाउ जसोतसो निको पार्ने कोसिस गर्दै थियौ त्यसिबेला छिमेकिको रुपमा भारत र भाराताका प्रधानमन्त्री मोदीले दिएको त्यो अमुल्य उपहार नेताहरुले त भुले होलान, प्रधानमन्त्री ओलीले पनि भुले होलान तर हामि जनताले अझै भुलेका छैनौ अनि भुल्न पनि सक्दिनौ।

जुन दिन हाम्रो चुलो निभेको थियो, बच्चाहरु भोकले रुदै थिए, बृध्द आमाबुबाले एक मुठी तातो पानि माग्दा दिन सक्ने अवस्था थिएन, बिरामीहरु औषधि खान नपाएर शैयामा छटपटाइरहेका थिए अनि विद्यालय पूर्ण रुपमा बन्द थियो । यस्तो अमानवीय व्यवहारले नाकाबन्दी गर्नेहरुको नाइके मोदीलाई बदलामा नागरिक अभिनन्दन गर्ने हामि गोर्खेहरु मुर्ख हौ कि महान प्रधानमन्त्री ज्यु ?

हजारौंको मृत्यु भयो , हामि शोकमा डुबिरहेका थियौ ज्यान गुमाएका आफन्तहरुलाई भेट्नु थियो । दुखेको घाउमा महलाम लगाउनु थियो । जतिबेला आपतमा परेका हामीलाई सहयोगको ठुलो आवस्यकता थियो त्यातिबेला भारत र मोदीले के गरे हामीलाई र ऐले हामीले नागरिक अभिनन्दन गर्नुपर्ने प्रधानमन्त्री ज्यु ?

यतिखेर म नागरिक समाज देखेर बडो अचम्मित छु अनि राष्ट्रियता र राष्ट्रवादको पगरी गुथेको ठेग्गा लिने राष्ट्रवादी पार्टीहरु देखेर छक्क छु, मोदिप्रेमी सरकार देखेर वाक्क दिक्क छु अनि मोदीलाई भगवान झैँ देख्ने बाह्र बिघाका सोझा जनताहरु सम्झेर कताकता दङ्ग छु । आखिर हामी नभेट्दा कुरा काट्ने भेटेपछि लम्पसार पर्ने त्यै नेपाली न पर्यौ ।

हुन त मोदी यति बेला तेस्रोपटक नेपाल आउदैछन् । पहिलो पल्ट आउदा हामी पनि खुशी थियौ सारा नेपाली खुशी थिए । सडक किनारामा फुलको गुच्छा बोकेर सबै मोदीको प्रतिक्षामा घन्टौ कुरिरहेका थिए , बालबालिका देखि बुढाबुढीहरुको मुखमा मोदिकै नाम गुन्जयामान हुने गर्थ्यो । छिमेकी देशको प्रधानमन्त्री भए पनि नेपालको तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको भन्दा धेरै ठुलो आशा थियो, विश्वास थियो अनि भरोसा थियो हामीमा । कसैलाई नराम्रो नगर्ने , सोचेर बोल्ने, बोलेको जसरी पनि पुरा गर्ने एक असल र सहयोगी मन भएको नेताको रुपमा हाम्रो नजर एकोहोरिएको पक्कै हो ।

हुन त तेती बेला हाम्रो देशको नेताहरुको कार्यशैली र व्यवहारबाट निरास भएका हामीहरुले मोदी जस्तो नेता नेपालमा जन्मिने हो भने देशको काचुली पक्कै फेरिने थियो भनेर सोच्न वाध्य भएका पनि सत्य हो । तर तत्कालिन जुन खुशीको साथ् मोदीको स्वागत गरियो अनि मनले नमान्दा नमान्दै बिदाई गरियो त्यसको अमुल्य उपहार हामीलाई उनले दिएरै छाडे । त्यो पनि ६/६ महिना सम्म । त्यो उपहार अझै हाम्रो मन मष्तिस्कमा त्यसरी नै ताजा छ, त्यसरी नै यादकर छ । यतिखेर त झन् पल पल घच्घचाउदै ताजा हुन् आइदिन्छ अनि कसरी र कुन खुशीमा मोदीको प्रसंसा गरौ प्रधानमन्त्री ज्यु ? कुन हर्षमा मोदीको जयजयकार गाउ प्रधानमन्त्री ज्यु ? कुन उत्साहले मोदीलाई अभिनन्दन गरौं प्रधानमन्त्री ज्यु ?

मोदी नेपाल आउने समाचारले अनि मोदीको नागरिक अभिनन्दन गर्ने खबरले केही नेताहरु खुशी होलान, केही मन्त्रीहरु खुशी होलान, बाह्र बिगा पनि खुशी होला अनि तपाइँ पनि वाध्यताले खुशी हुनु होला प्रधानमन्त्री ज्यु तर दुई करोड नेपालीहरु खुशी छैनन् अनि हुन पनि सक्दैनन् ।

हुन त सरकारकै अग्रसर्तमा मोदीको अभिनन्दन हुदै छ तर के का लागि र किन भन्ने कुरा अझै हामी जनताले बुझ्न सकिरहेका छैनौ । यतिबेला सबैको मनमा यहि कुरा खेलिरहेको छ कि, आफु अनुकुल संविधान नबनाएको रिसमा निर्दोस नेपालीहरुको छातीमा लात हान्दै गरिएको नाकाबन्दीको पाप पखाल्नको निम्ति जानकी र मुक्तिनाथ मन्दिरको शरणमा जाने एउटा भक्तलाई अभिनन्दन गर्न किन मरिहत्ते गरिदैछ प्रधानमन्त्री ज्यु ?

यदि अभिनन्दन नै गर्नु परे अघोषित नाकाबन्दी गरेर दुख दिएकोमा, पटक पटक सिमा अतिक्रमण गरेकोमा, राष्ट्र र राष्ट्रियता माथी कुठाराघात गरेकोमा, हाम्रो हजारौं हेक्टर जमिन कब्जा गरेकोमा, बर्षै पिक्छे कोशी ब्यारेजका ढोका थुनेर तराई डुबान गरेकोमा, नेपालको राजनितीमा पटक पटक हस्तक्षेप गरेकोमा, गौतम बुध्द भारतमै जन्मेका हुन् भनेकोमा अनि नेपाली सिमानामा एसएसबीलाई नेपालीहरुलाई गोलि हान्न र नेपाली चेलीहरुलाई दुर्व्यवहार गर्न छुट दिएकोमा दुई करोड नेपालीको तर्फबाट टुडिखेलमा राखेर भारतीय प्रधानमन्त्री मोदीलाई  अभिनन्दन गरौ तेस्मा सारा जनताको समर्थन जुट्नेछ । यो नै सबै नेपालीहरुको इच्छा र चाहाना हो प्रधानमन्त्री ज्यु ।

यदि यो हुदैन र सम्भब छैन भने मोदीलाई वाह्र बिघामा अभिनन्दन गरेर दुइ करोड नेपालीलाई निरास नबनाईदिनुस । सबै नेपालीहरु यहि चाहान्छन् । हिजोको इतिहास पछी अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालीको लागि कोहि होइनन् र हुने पनि छैनन् । हामी पनि अभिनन्दन गर्न इच्छुक र उत्साहित छौं तर भारतीय प्रधानमन्त्री मोदीलाई होइन नेपाली प्रधानमन्त्री ओलीलाई यानेकी तपाईलाई ।

 

प्रतिक्रिया दिनुहोस्