मनमोहन आधिकारीको योगदानको चर्चा



ललितपुर, १३ वैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने बताउनुभएको छ ।

नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा आज यहाँ मनमोहन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

सो कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताले स्वर्गीय अधिकारीको योगदानको स्मरण गर्दै उहाँको शालिकमा माल्यार्पण गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले अधिकारीका नाममा निजी र सामुदायिक दुवैखालका संस्था खोलेर उहाँप्रति सम्मान गरिएको बताउनुभयो । नेकपा (एमाले)ले अधिकारीलाई कहिल्यै नभुलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँका सपना साकार पार्नकै लागि तत्पर भएर लागिएको छ ।”

वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने उहाँको भनाइ छ ।

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अधिकारीलाई पदमा भन्दा पनि कर्ममा विश्वास गर्ने नेताका रुपमा स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “उहाँले मलाई असल मान्छेका रुपमा सम्झिदिए पुग्छ भन्ने भनाइबाट नै उहाँका बारेमा बुझ्न सकिन्छ ।” अहिले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन उहाँबाट प्रेरणा लिनुपर्नेमा उहाँको जोड छ ।

अर्कापूर्व प्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलन अहिले नयाँ उचाईमा पुगेको बताउनुभयो । जनवादी क्रान्तिको उपलब्धि १० वर्ष लगाएर संस्थागत गरिएका बताउँदै उहाँले भन्नुभयो, “लोकतान्त्रिक र प्रगतिशील संविधानले पनि समाजवादलाई अघि बढ्न मार्गनिर्देशन गरेको छ ।”

एमाले उपाध्यक्ष वामदेव गौतमले अधिकारी प्रधानमन्त्री हुँदा कार्यकर्ता भेट्नभन्दा पनि काममा समय बिताउनुभएको स्मरण गर्नुभयो ।

प्रतिष्ठानका सचिवसमेत रहनुभएका रक्षामन्त्री ईश्वर पोखरेलले आफू अधिकारीको राजनीतिक सल्लाहकार हुँदा आफ्नो सुमधुर सम्बन्ध रहेको स्मरण गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्