देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना- प्रचण्ड



रौतहट, १३ वैशाख

पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।

रौतहटको उत्तरीभेग चन्द्रपुर नगरपालिका–२ जुुडिबेलास्थित स्मार्ट सिटीअन्तर्गत विभिन्न सडक तथा नाला शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले उक्त विचार राख्नुभएको हो ।

देशमा अबको यात्रा सुशासन, स्थिरता र समृद्धिको रहेको उहाँले स्पष्ट पार्नुभएको छ ।

अध्यक्ष दाहालले अबको दिन एकपटक सबै दल मिलेर समृद्धिका लागि अघि बढ्नुपर्ने समय आएको बताउनुभयो ।

देशको हरेक राजनीतिक परिवर्तनमा रौतहटको अग्रणी भूमिका रहेको उच्च मूल्याङ्कन गर्दै तत्कालीन शहरी विकास मन्त्री प्रभु साहका पालामा देशको १० शहरमध्ये चन्द्रपुर पनि स्मार्ट सिटीको सूचीमा परेको उहाँले जानकारी दिनुुभयो ।

चन्द्रनिगाहपुरमा विकासका लागि स्मार्ट सिटीमा रुपान्तरण गर्न डिपिआरको काम भइरहेको तथा औद्योगिक करिडोर निर्माण गर्न उद्योगमन्त्री मातृका यादवलाई आफुले निर्देशन दिएको प्रचण्डले स्पष्ट पानुभयो ।

कार्यक्रमका सांसद प्रभु साहले मानव सूचकाङ्कमा सबभन्दा पछाडि ७५औँ स्थानमा रहेको रौतहट अब एक नम्बरमा आउने दाबी गर्नुभयो ।

नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमल्सिना, एमाले सांसद कल्याणी खड्कालगायतले चन्द्रपुर–२ जुडिबेला क्षेत्रमा सिँचाइ खानेपानीको अभावसँगै अत्यन्त गरिबीको अवस्था रहेकाले समस्या समाधान गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा शहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियर एवं उक्त आयोजना प्रमुख श्रीभगवान गुप्ताले आज शिलान्यास भएको सडकको कूल लागत रु आठ करोड ४० लाख तथा लम्बाइ १० किलोमिटर रहेको जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्