मदन भण्डारीसँग कम्युनिस्ट एकताबारे छलफल गर्ने तयारी थियाे तर बीचमै हत्या भयो : प्रचण्ड



रौतहट, १३ वैशाख

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट एकता भाड्ने प्रयास भएको बताउँदै त्यसविरुद्ध अन्तिम लडाइँको खाँचो रहेको औँल्याएका छन् । उनले वाम एकतालाई ‘जनताको साझा सम्पत्ति’ भएको पनि बताएका छन् ।

पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै उनले भनेका छन्, ‘यो एकताको विषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबिच एकता गर्ने विषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

रौतहटको चन्द्रपुरमा अाज अायाेजित कार्यक्रममा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’ निर्वाचनमा जाँदा जनताबाट अनुमोदित भइसकेकाे एकतालार्इ भाँड्न नहुने भन्दै उनले यसमा बिलम्ब गर्न पनि नहुने बताए ।

शुक्रबार पार्टी एकताको कामलाई अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाइ थियो । उनले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाइँमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्तालाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्