एकपल्ट हेर्नैपर्ने चलचित्र रहेछ भोर



काठमाडौं, १२ वैशाख

आज साहित्यकार कृष्ण धरावासीको कथा, यादव कुमार भट्टराईको निर्देशन, देवेन्द्र सुवेदी कार्यकारी निर्माता र राज तिमल्सिना र रामगोपाल थापा निर्माता रहेको तराईमा कुप्रथाका रूपमा व्याप्त रहँदै आएको दाइजोमा आधारित नेपाली कथानक चलचित्र भोरको विशेष प्रदर्शन हेर्ने मौका प्राप्त भयो ।

जयनेपाल सिनेमा हलमा आयोजित यस प्रदर्शनमा कलाकार,साहित्यकार, महिला हिंसा विरोधी अभियन्ताहरू र राजनीतिक नेताहरूको खचाखच उपस्थिति थियो । तराईमा दाइजोको नाममा महिलामाथि कस्तो किसिमको हिँसा व्याप्त छ र यसले नेपाली समाजलाई कसरी विकृति र विनाशको बाटोमा लगिरहेको छ भन्ने कुरालाई यसमा यथार्थ रूपमा चित्रण गरिएको छ ।

भनेजति दाइजो नपाएपछि त्यो प्राप्त गर्ने प्रयत्नमा केटा पक्षले केटी पक्षमाथि एकपछि अर्को गर्दै गर्ने हिँसावृत्ति र अपराधका क्रियाकलापका कारण तराईको समाज सांस्कृतिक रूपमा कसरी कुरूप बनिरहेको छ भन्ने कुराको खुलासा यसमा गरिएको छ । न ग्लैमर, न आइटम डान्स, न फाइट केही नहुँदा पनि राम्रो चलचित्र हुनसक्छ भन्ने उदाहरण यसले प्रस्तुत गरेको छ ।

~ चलचित्रमा कहीँ पनि अश्लीलताको प्रदर्शन नहुनु,

~ हत्या-हिंसाका घटनालाई प्रत्यक्ष होइन, संकेतका रूपमा देखाउनु,

~ चलचित्रलाई यथार्थ र विश्वसनीय बनाउन आंचलिकताको प्रयोग हुनु,

~ अपराधीहरूले जस्तोसुकै हतकन्डा प्रयोग गरेर उम्कन खोजे पनि कानुन बमोजिम दण्डको भागिदार हुनु,

~ न्यायालयको भूमिका न्याय सम्पादनमा सक्रिय देखिनु,

~ चलचित्र सन्देशमूलक रहनु आदि यसका विशेषता हुन् ।

यसमा अभिनय पक्ष पनि सशक्त नै छ । यद्यपि अझै गर्न सकिने पक्षहरू त छदैछन् तापनि यहाँनेर कमज़ोरी रह्यो भन्ने ठाउँ चाहिँ छैन । वास्तविक विषयवस्तुमा आधारित र तराईको नेपाली समाजलाई सुधार गर्ने हेतुले निर्माण गरिएको यस्तो सन्देशमूलक चलचित्रका लागि लेखक कृष्ण धरावासी र निर्देशक यादवकुमार भट्टराई धन्यवादका पात्र छन् ।

झोला चलचित्रको ऐतिहासिक सफलता जस्तै यस चलचित्रले पनि सफलता प्राप्त गर्न सकोस् । यसका लागि मिडिया फर कलचर प्रा.लि. र लेखक, निर्देशक, निर्माता र कलाकारहरू सबैमा शुभकामना ।

प्रतिक्रिया दिनुहोस्