धरहराको भग्नावषेशमा उभिएर प्रधानमन्त्री ओलीले भने ‘मेरो धरहरा मै बनाउँछु’



काठमाडौं, १२ वैशाख

भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहराको पुनर्निर्माणले तीन वर्षपछि बल्ल गति लिने संकेत देखा परेको छ ।

भूकम्प गएको तेश्रो वर्ष पूरा भएको दिनको सम्झना र त्यस बखत ज्यान गुमाएकाहरुलाई श्रद्धान्जली दिन बुधबार भग्नावषेशमा परिणत धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओली र काठमाडौं महानगरपालिका मेयेर विद्यासुन्दर शाक्यले अलपत्र परेको धरहरा छ्टिै तर उस्तै र बलियो बनाउने अठोट र प्रतिबद्धता व्यक्त गरेपछि धरहराको पुनर्निर्माणको सुरुवात हुने संकेत देखा परेको हो।

यद्धपी प्रधानमन्त्री ओलीले यसअघि गरेको ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने संकल्प कार्यान्वयनमा आउन सकेको छैन। प्रधानमन्त्रीले भग्नावषेश धरहरको अघिल्लतिर उभिदै भने, ‘मैले पहिले गरेको संकल्प विभिन्न कारणले कार्यान्वयमा आउन सकेको थिएन । अब कोही पनि निरास हुनु पर्दैन। यसपटक त्यो संकल्प पूरा गरी छाड्ने प्रतिबद्धता जनाउँछु र अरुले पनि साथ दिन जरुरी छ ।

प्रधानमन्त्री ओलीले त्यतिबेला आफु सत्तामा नहुँदा धरहरा बनाउने आफ्नो प्रतिवद्धता पुरा हुन नसकेको र अव आफू निर्माणका लागि निर्देशन दिने र हस्तक्षेप गर्ने हैसियतमा समेत पुगेकाले छ्टिै त्यसकोनिर्माण हुने संकेत घुमाउरो पारामा गरेका थिए।

‘धरहरासँग हाम्रो इतिहास जोडिएको छ । धरहरा निकै अग्लो थियो । हामी सारा नेपालीको स्वाभिमानको उचाईको प्रतिक धरहरा थियो’, धरहराको भग्नावषेश धरहरालाई फेरि देखाउँदै ओलीले भने,‘ अव धरहरा त्यही स्वाभिमानको उचाई कायम हुने गरी निर्माण गर्ने छौं । धरहरामा तलतला थिए, जुन हाम्रा गौरवका तला थिए। अब ती तला अबिलम्ब उठ्ने छन् ।

ओलीले धरहरा मात्रै होइन भूकम्पबाट क्षतिग्रस्त बनेका मुलुकका अन्य ऐतिहासिक पुरातात्वीक सम्पदाहरुको पुनर्निर्माणले तीव्र गति लिने आश्वासन समेत दिए ।

तर त्यसको मौलिकता नहराउने गरी ती सम्पदाको पुनर्निर्माण गर्नु पर्ने निर्देशन पनि ओलीले सरोकारवाला निकायलाई कार्यक्रमस्थलबाटै दिए।

ओलीको त्यो निर्देशन आफ्नै पार्टीबाट काठमाडौं महानगरपालिकाका मेयर बनेका विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभावह खड्काबिचको रानीपोखरी निर्माणका बेला भएको विवादालाई लक्षित थियो।

भूकम्पले क्षतिग्रस्त बनको रानीपोखरी पुनर्निर्माणका बेला शाक्यले रड तथा सिमेन्टको प्रयोग गर्न खोज्दा खड्काले विरोध गरेकी थिइन् र पछि पुरातत्व विभागले त्यसको पुनर्निर्माणमै रोक लगाएको थियो।

ओलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पछिल्लो समय निजी आवास, विद्यालय र सरकारी भवनको पुनर्निर्माणलाई तीव्रता दिएको समेत खुलाए ।

गत चैत २० गते प्राधिकरणलाई पुर्निर्माणमा बाधा पुगेका ऐन तथा कार्यविधि संसोधन गरेर भएपनि तत्काल पुनर्निर्माण अघि बढाउने निर्देशन दिएको सन्दर्भमा ओलीले त्यस्तो बताएका थिए।

ओलीले अहिले सबैभन्दा ठूलो चुनौति बनेको र निकै महेनेत गर्नु पर्ने भएकाले मौलिकता हराउन नदिन पुरातात्वीक सम्पदाको पुनर्निर्माणमा समय लगाउनु नै उपयुक्त हुने बताए।

यसअघि हिजो मंगलबार प्राधिकरणले अबको १५ दिनभित्र धरहरा पुनर्निर्माणको ठेक्का सम्बन्धी सूचना सार्वजनिक गर्ने र असार मसान्तसम्म त्यसको शिलान्यास गर्ने तयारीमा जुटेको दाबी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्