‘कुर्सी’मा लेलिनलाई नराखी माओवादी मान्दै मानेन



काठमाडौं, ९ वैशाख

झन्डै तीन घन्टा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा गृहमा फुर्सदका गफ चुटेर विताए।

एकीकरणको चरणमा रहेका दुवै पार्टीका अध्यक्ष निर्धारित समयभन्दा केही मिनेट मात्र ढिलो भएका थिए । तर, व्यानर विवादका कारण कार्यक्रम सुरू हुन नसकेपछि उनीहरू भीआइपी कक्षमा तीन घन्टा गफिए ।

भीआइपी कक्षमा प्रचण्डका परिवारका सदस्य पनि उपस्थित थिए भने ओलीका आफन्त पनि आएका थिए ।

‘कार्यक्रम ढिलो भएपछि उहाँहरू गफिनु भयो । आजको सन्दर्भ एकताका विषयमा कुराकानी गर्ने भन्दा पनि कार्यक्रम कसरी सफल बनाउने भन्नेमा थियो’, प्रचण्ड परिवारका एक सदस्यले भने,‘एकीकरणका सन्दर्भमा हल्काफुल्का कुरो भयो ।’

दुवै दलका कार्यकर्ताहरूले खचाखच भरिएको थियो सभा हलसहितको परिसर । त्यतिमात्र होइन, भृकुटी मण्डपमा पनि कम्युनिष्ट कार्यकर्ताको भिड थियो । मानौ, ६९ औं कम्युनिष्ट स्थापना दिवसको औपचारिक कार्यक्रम भन्दा पार्टी एकताको घोषणा नै हुँदैछ ।

‘सरप्र्राइज’ पनि हुनसक्ने भएकाले म यहाँ आएको हुँ । तर भित्र छिर्ने ठाउँ नभएपछि भृकुटी मण्डपतिर लागें’, युवा संघ केन्द्रीय सदस्य युद्धवीर पाण्डेले भने,‘एकीकरण जसरी पनि हुनुपर्छ भन्ने दबाबका लागि पनि आएको थिएँ ।’

प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री समेत रहेका कारणले सुरक्षा व्यवस्था कडा पारिएको थियो । हलमा कार्यकर्ता प्रवेशलाई रोक लगाइयो । मिडियालाई पनि भीआइपी प्रवेशद्वारबाट मात्रै छिर्न दिइएको थियो । कतिपय मिडियाकर्मीलाई भने त्यसै फर्काइयो ।

लेलिनलाई ‘कुर्सी’मा नराखी माओवादी मान्दै मानेन

कार्यक्रम निर्धारित समयभन्दा तीन घण्टा ढिलो हुनुको प्रमुख कारण व्यानर विवाद थियो । संयोजन समितिले तयार पारेको व्यानरमा कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठ, तत्कालिन माले महासचिव मदन भण्डारी र एमालेका दिवंगत अध्यक्ष मनमोहन अधिकारीकोसहित प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तस्बिर थियो ।

माओवादी कार्यकर्ताले लेलिन दिवस ९२२ अप्रिलका अवसरमा गरेको कार्यक्रममा लेलिनको तस्बिर खोई  भनी हो–हल्ला गरेपछि विवाद भएको थियो । त्यसपछि सुरक्षा व्यवस्था झन् कडा पारियो । लेलिनको तस्बिर कुर्सीमा राखेर कार्यक्रम गर्नका लागि कार्यकर्ता मञ्जुर बनाउने कोशिश भए पनि विवाद नरोकिने भयो । विवादको मुल जड लेलिनको तस्बिरमात्र नभएर माओवादी केन्द्रको नाम ‘माके’मात्र राखिनु थियो ।

‘उनीहरूका नेताका सबै फोटा राख्ने, अगाडी नाम पनि उनीहरूकै अनि माओवादी केन्द्रको नामचाहीँ अन्त्यमा सानो अक्षरमा ‘माके’मात्र राखियो’, एकजना माओवादी कार्यकर्ताले भने,‘यसैको विरोध हामीले गरेका हौं ।’

एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले माओवादी खुशी बनाउनका लागि माक्र्स र लेलिनको तस्बिर कुर्सीमा राखेर माल्यार्पण गरेका थिए । कार्यक्रममा नयाँ व्यानर बनाएर ल्याउँदासम्म पर्खिने काम भएको थियो । कार्यकर्ता गर्मीमा यताउता गरे पनि कार्यक्रम पर्खिएर बसेका थिए । सोही क्रममा गायक बद्री पंगेनीले गीत गाएर कार्यकर्तालाई भुलाउने र आश्वस्त पार्ने कोशिश गरे ।

हल बाहिरकालाई ठूलो पर्दा
अनुमानित ८ हजार उपस्थित कार्यकर्ता हलभित्र अट्न नसक्ने भएपछि सभागृह व्यवस्थापनको सहयोगमा हल बाहिरकालाई ठूलो पर्दामा कार्यक्रम हेर्ने व्यवस्था मिलाइएको छ । सभागृह प्राङ्गणमा नै उक्त व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्