
काठमाडौं, ९ वैशाख
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै विषयमा समझदारी भएका कारणले पार्टी एकताले मूर्त रूप लिने बताएका छन् ।
६९ औं कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरका राष्ट्रिय सभा गृहमा नेकपा एमाले–माओवादी पार्टी एकता संयोजन समितिले गरेको कार्यक्रममा आइतबार उनले नेताले भनेको मितिमा भन्दा फरक मितिमा एकता घोषणा हुने बताए ।
‘यहाँ धेरै विगार्नेतिर जाने हुन्छ । त्यसैले जसरी हामीले यहि सभाबाट गठबन्धनदेखि एकतासम्मको घोषणा सरप्राइज हिसावले गरेका छौं त्यसरी नै तपाईहरूले थाहा नपाएको मितिमा नै एकीकरण घोषणा हुनेछ ।’
उनले समानता, सम्मानजनक प्रतिनिधित्व र औचित्यका आधारमा नै एकता हुने बताउँदै एमाले अध्यक्ष केपी ओलीसँग निक्कै विषयमा सहमति भइसकेको बताए । तर, के–के सहमति गरे भन्नेचाहीँ खुलाएनन् ।
राजनीतिमा ठूलो र सानो पार्टी हुँदाको अनुभव सँगालेको बताउँदै ठट्यौली पारामा भने,‘हामीले धेरै ठूलो बन्दाको अनुभव पनि गरेका छौं । ठूलो हुँदाको अहंकार पनि थाहा छ । जनताले पछारेपछि सानो हुँदाको अनुभव पनि थाहा छ । त्यसैले ठूलो बन्नु पनि ठिक होइन रहेछ ।’
उनले कार्यकर्तालाई एकतामा बल पुग्नेगरी अघि बढ्न नेताहरूलाई सुझाव दिँदै भने,‘नेतालाई उल्टो पाल्टो लगाइ दिएर पार्टी एकता भत्काउने होइन, एकता मिलाउने तिर कार्यकर्ताको जिम्मेवारी हुन्छ । त्यतातिर जानु पर्दछ जस्तो लाग्छ ।’





