
काठमाडौं, ९ वैशाख
अकुत सम्पति आर्जनको आरोप लागेका पूर्वमन्त्री र सचिवसहितका ५० जनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ‘क्लिन चिट’ पाएका छन् ।
अख्तियार भ्रष्टाचार र अकुत सम्पतिको लाञ्छनाबाट पूर्व स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल, पूर्व ऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्व सचिव शान्तबहादुर श्रेष्ठसहित झण्डै ५० लाई सफाइ दिएको हो । सफाइ पाउनेमा पूर्व एआइजी, महानिर्देशक, विश्वविद्यालयका उपकुलपति समेत छन् ।
पूर्व स्वास्थ्यमन्त्री पोखरेललाई त्रिभुवन विश्वविद्यालयले एमबीबीएस भर्नाका लागि लिएको प्रवेश परीक्षामा भएको अनियमिततामा संलग्न रहेको आरोप लागेको थियो । पोखरेलको संलग्नतामा प्रश्नपत्रको गोपनीयता भङ्ग भएको भन्दै छानबिन माग गरिएको थियो । यस्तै, बूढीगण्डकी जलविद्युत् आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेस गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्याङ्कन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिना आधार स्वेच्छाचारी रूपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण समितिले तीन वटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो ।
ठेक्का प्रक्रियामा चलखेल गरी योग्य कम्पनीलाई जलविद्युत् आयोजनाको विस्तृत अध्ययनको ठेकेदार छनोट प्रक्रियामा प्रतिष्पर्धी हुन नदिएको आरोप समेत शर्मासहित प्राधिकरण पदाधिकारीविरुद्ध मुद्दा परेको थियो । अख्तियारले छानबिनबाट उजुरीमा तथ्य पुष्टि हुने आधार नदेखिएको भन्दै पोखरेल र शर्माविरुद्ध उजुरी तामेलीमा राखेर सफाइ दिलाएको जनाएको छ ।
अख्तियार प्रवक्ता दीर्घराज मैनालीले छानबिनबाट तथ्य स्थापित हुने आधार र कारण नदेखिएपछि उजुरी तामेली प्रक्रियामा जाने बताए, ‘यदि त्यही उजुरीका सन्दर्भमा पछि फेरि थप ठोस प्रमाण भेटिए पुनः फाइल खोल्न पनि सकिन्छ ।’ परामर्श खरिदमा कमिसन खाएको दाबीसहित परेको उजुरीमा संघीय मामिला स्थानीय विकास मन्त्रालय अन्तर्गत डोलिडार विभागका तत्कालीन महानिर्देशक भूपेन्द्र बस्नेतलाई पनि सफाइ दिएको छ ।
रकम हिनामिनामा तामेली
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वित्त प्रबन्धक दीपक आचार्य र डा.बाबुराम मरासिनीले दातृ निकायको रकम हिनामिना आरोपबाट सफाइ पाएका छन् । नेशनल ट्रेडिङ लिमिटेडका तत्कालीन महाप्रबन्धक पूर्णशंकर बिसी, चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर, आयुर्वेद विभागका तत्कालीन महानिर्देशक देवकला भण्डारी, इजिप्टस्थित तत्कालीन कार्यवाहक राजदूत कौशलकिशोर राय, राष्ट्रिय भू–उपयोग आयोजनाका तत्कालीन निर्देशक वामदेवदीप अधिकारी, वायुसेवा निगम इन्जिनियरिङ विभागका तत्कालीन निर्देशक अच्युतराज पहाडी र मेडिकल काउन्सिलका पदाधिकारी पनि सफाइको सूची परेका छन् ।
अकुत सम्पतिको आरोपबाट उन्मुक्ति
गैरकानुनी सम्पत्ति आर्जन (अकुत) को आरोपसहित परेका उजुरीको छानबिनबाट पूर्व सचिव शान्तबहादुर श्रेष्ठ, पूर्वाञ्चल विश्वविद्यालयका तत्कालीन उपकुलपति महेश्वरमान श्रेष्ठ, व्यवस्थापिका संसद्का पूर्वसदस्यहरू उमेश श्रेष्ठ, जनार्दन ढकाल मुक्त भएको अख्तियारले जनाएको छ ।
यस्तै बाबुराम पोखरेल, सहसचिव बलिरामप्रसाद सिंह, इन्दिरा दाहाल भट्टराई, पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिन सीताराम चौधरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक डिन शिवेन्द्र झा, राष्ट्र बैंकका सञ्चालक सदस्य बालकृष्णमान सिंह, पूर्वाञ्चल विश्वविद्यालयमा रजिस्ट्रार डा. निरोज पाण्डे, काठमाडौं महानगरपालिकाका वरिष्ठ इन्जिनियर नरेन्द्रराज श्रेष्ठ, वल्लभमणि गौतम, डिभिजन सडक कार्यालयका इन्जिनियर कामेश्वरप्रसाद साह, विद्युत् प्राधिकरणका उपप्रबन्धक अनिलभक्त श्रेष्ठ, तत्कालीन सशस्त्र प्रहरी नायब उपरीक्षक शोभाकान्त खनाल, तत्कालीन उपक्षेत्रीय प्रशासक वेदप्रसाद खरेल, सीटीईभीटीका उपनिर्देशक देवेशचन्द्र देवकोटा, वन विभागका उपमहानिर्देक गणेश झाविरुद्धको उजुरी पनि तामेलीमा पठाउने निर्णय भएको छ ।





