आजको सामाजिक संजालमा छाएकी आमा



काठमाडौं, ३ वैशाख

मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन हो आज । आफुलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइने यो पर्वलाई मातातीर्थ औंसी भनिन्छ ।

आज यो पर्व बिशेष हिन्दु धर्मावलम्बीहरुमा मनाइने गरिन्छ ।आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइने गरिन्छ । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने गरिन्छ ।

आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी । सामाजिक सञ्जालमा झनै बढी सम्झना र भावना देख्न पाइन्छ, । सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताले आमाको नाममा पोखिएका भावना र सम्मान छताछुल्ल रुपमा देख्न पाइन्छ ।कतिपय आमासितै भएका र भेट्न जान सजिलो भएकाहरुले मीठामीठा खानेकुरा दिएर आमाप्रति सम्मान र श्रद्धा व्यक्त गरे ।

कसैले भने आमालाई भेट्न जान नसकेकाहरुले फोन गरे । अनि कतिपयले आमाभन्दा टाढा रहेकाहरुले भने आफ्नो आमाको तस्बिर फेसबुकमा राखेर आमालाई सम्झेका छन् । कतिले आफ्नो आमा सम्झदै भावनामा डुबेर आमाको नाममा कविता र गजल पनि लेखेका छन् । , कतिले आमा भेट्न नपाएको भावना पोखेका छन् । कतिले आमाको महिमा र गुणगान गाएका छन् ।
फेसबुकमा आमाप्रतिको भावना पोखिएका कविता यस्तो छ:-

मातातीर्थ औंसीको शुभकामना…!
************

आमा !
तिमीले कातेको बातीले
तिम्रो पिडाको आयतन-नाप्छ कि नाप्दैन ?
तिमीले दिएको अर्घले
घरको निभेको चुल्हो – धुवाउँछ कि धुवाउँदैन ?
तिमीले गाँसेको दुनामा
तिम्रै आँसुको सागर – अटाउँछ कि अटाउँदैन ?
तिमीले डढाएको धुपले
तिम्रो दुखको क्यान्सर – सेकाउँछ कि सेकाउँदैन ?
र तिमीले लिप्ने पोतेरीले
तिम्रो सपनाको इन्द्रेणी – बोलाउँछ कि बोलाउँदैन ?
………………..

भन न आमा !
तिमीले सल्काएको दियोले
तिम्रा आँखाको तुवँलो – मेटाउँछ कि मेटाउँदैन ?
तिमीले पुछेको ऎनाले
तिम्रो सक्कली अनुहार – देखाउँछ कि देखाउँदैन ?
तिमीले बुनेको गुन्द्रीले
तिम्रा सुत्केरी रहरहरू – सुताउँछ कि सुताउँदैन ?
तिमीले फुकेको आगोमा
तिम्रा खुशीहरूको घाम – उदाउँछ कि उदाउँदैन ?
र तिमीले टालेको थाङ्नोमा
तिम्रो आफ्नै इतिहास – लेखिन्छ कि लेखिदैन ?
………………………

आमा!
किन केहि पनि बोल्दिनौं
र चुपचाप-चुपचाप ब्रतमात्र बसिरहन्छ्यौ ?
अब प्रश्न गर, आमा !
तिमीले बसेको ब्रतले
हाम्रो भोकको ब्याकरण – मिलाउँछ कि मिलाउँदैन ?
र तिमीले पिएको गोडपानीले
यो पृथ्वीको अदृष्य आयु – लम्ब्याउँछ कि लम्ब्याउँदैन ?
-प्रथा

यो कवितालाई कवि प्रथा ओमकारले लेखेका छन् ।

त्यस्तै सामाजिक संजाल फेसबुकमै कवि प्रज्वल अधिकारीले केहि लेखेर आमाको तस्बिर शेयर गरेका छन्
नि:शब्द !

छैन आमा तिम्रो कविता
शब्दहरू फिका पर्छन
लेखुँ भन्छु – केहि अक्षर
कोरुँ भन्छु – केहि हरफ
कलमबाट मसी भन्दा पहिले
आँखाबाट आँसु झर्छन !

HAPPY MOTHER’s DAY !


यस्तै फेसबुक मार्फत आमालाई सम्झदै कतिपयले लेख्छन्- ‘मातातिर्थ औसि ! जन्मदिने आमाप्रती आदर व्यक्त गर्न चाहे ! पौराणिक काल देखि मनाइदै आएको पर्व हो ! आजको दिन आमाले गर्नुभएको महान र कष्टपुर्ण कामहरुको सम्झना गरिन्छ ! आजकोदिन आमा प्रती सम्मान गर्दै आमालाई सम्झने दिन हो !यिनै आमा जस्ले हामीलाई सन्सार देखाउनुभयो ,पाइला चाल्न,ताते गर्दै सिकाउनु भयो !गर्भमा राखेर जन्माउनु भयो ,अनि काखमा राखेर पाल्नुभयो देवीको प्रतिरुप अनि ममता खानी अनि वालपनमा हाम्रो हरेक चाहना,इच्छा आकाक्ष अनि चाहने पूरा गरि दिने कल्पबृक्ष सरि मेरि आमालाई कोटि कोटि प्रणाम छ !! लगायत सम्पुर्ण आमा हरुलाई पनि !!’

त्यस्तै सामाजिक संजाल फेसबुकमा कतिले ब्यंग पनि गरेका छन् ३६४ दिनमा १ दिन मात्रै फेसबुकको भित्ता रंगाउदैमा आमालाई सम्झदैमा आमाको सम्मान हुदैन पनि भनेका छन् ।

यसरी कतिले आँखा रसाउंदै भावनामा डुबेर आमालाई सम्झदै फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा पोखिएका यी भावबाटै प्रष्ट हुन्छ संसारमा आमाभन्दा ठूलो अरु कोही छैनन् । आमाले भन्दा बढी माया अरुबाट पाउन पनि सकिदैन ।

आमा महान् छिन् । आमाप्रति श्रद्धा, सद्भाव, माया र सम्मान प्रकट गर्ने सबै छोराछोरीले वर्षमा एक दिन मात्रै होइन, बर्षमा ३६५ दिननै आमाको ख्याल गर्न सकून् आमालाई खुशी दिन सकुन् । आमाको मुख हेर्नेदि अर्थात् मातातिर्थ औसीको सबैलाई शुभकामना ।

प्रतिक्रिया दिनुहोस्