
काठमाडौं- थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं उडान गर्ने एयरलाइन्स थपिने भएको छ।थाइल्यान्डको थाइलायन एयरलाइन्सले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अपरेटिङ अनुमति पाएसँगै बैंकक–काठमाडौं रुटमा सेवा दिने एयरलाइन्स थप हुने भएको हो।हालसम्म दुईवटा एयरलाइन्सले मात्र उक्त रुटमा सेवा दिइरहेकोमा अब तीन हुने छन्।
हप्तामा अधिकतम सातवटा उडान गर्नेगरी अनुमति पाएको थाइलायनले स्लट, उडान समय तालिका भने नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयबाट पाउने भएको छ ।यो रुटमा हालसम्म थाइ एयरवेज र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन्। थाइलायनको हब विमानस्थल भने दन मुयाङ इन्टरनेसनल एयरपोर्ट हो। बैंकमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्।
इन्डोनेसियाको लायन एयरको भगिनी कम्पनीको रूपमा रहको थाइलायन बजेट एयरलाइन्स हो। योसँगै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या ३० पुगेको छ।





