राराबाट प्रधानमन्त्री ओलीले भने ‘म जनताको सेवक बन्न चाहन्छु’



मुगु, २ बैशाख

प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनलाई गएको चुनावमा जनताले दिएको बहुमत दम्भको लागि नभई विकास र समृद्धिको लागि भएको बताएका छन् । मुगुको रारा तालको किनारबाट नयाँ वर्षको अवसरमा शुभकामनासहित देशबासीको नाममा सम्बोधन गर्दै ओलीले भने, ‘ चुनावमा जनताले दिएको बहुमत दम्भ र बर्चश्वको लागि होइन । जनताको सेवाका लागि हो ।’

उनले आफू नेतृत्वको सरकारले विकास र समृद्धिमा जोड दिएको भन्दै विपक्षीबाट पनि साथ र सहयोग चाहेको बताए ।संविधान निर्माण पछि भएको चुनावपछि नयाँ सरकार बनेको अवस्थामा आफूहरुको जोड विकास र समृद्धि नै भएको दोहोर्याउँदै प्रधानमन्त्रीले अब इतिहासको पाना बदल्ने बेला आएको बताए ।

‘अब इतिशासको पाना बदल्ने बेला भएको छ ’, ओलीले भने, ‘नेपाल एतिहासिक बिन्दुमा पुगेको छ । तीब्र रुपमा परिवर्तन भइरहेको अवस्थामा बिश्वले पनि स्थायित्वका साथ अघि बढ्न आह्वान गरिरहेको छ ।’विपक्षी दल कांग्रेससँग कटुताको सम्बन्ध राख्न नचाहेको भन्दै ओलीले सरकारका काममा आवश्यक सुझाव, चासो र सहयोग पुर्याउन आग्रह र आह्वान गरे । यस्तै प्रम ओलीले जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सरकारले सशक्त अभियान अघि बढाउने समेत बताए ।

‘जनतालाई निरपेक्ष गरिबीबाट माथि उठाउन सशक्त अभियान चलाइने छ,’ प्रधानमन्त्री ओलीले भने ।सन २०३० सम्ममा दीगो विकास लक्ष्यका १७ लक्ष्य र १८३ सहायक लक्ष्य पूरा गर्न सरकार डटेर लाग्ने समेत उनको भनाइ छ ।उनले लगानीको अवसर सिर्जन गरिने भन्दै निर्धक्क भएर लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गरे ।साथै प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध आफू निर्मम हुने उल्लेख गर्दै विधिको साशन कडाइका साथ लागू हुने बताए ।प्रधानमन्त्रीले गएको वर्षलाई राजनीतिक उथलपुथलको वर्ष समेत सम्बोधनका क्रममा भनेका छन् ।

‘गएको वर्ष राजनीतिक उथलपुथलको वर्ष रह्यो, संक्रमणकालको अन्त्य भयो, देशलले विकासप्रेमी तथा अग्रगामी सरकार पायो, संविधन सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो,’ प्रधानमन्त्रीले भने ।निष्ठा र इमानको कुनै सिमाना नहुने भन्दै उनले नेपाल छिट्टै सम्पन्न बन्ने बताए ।

राराको आँगनमा उभिएर सम्बोधन गर्न पाउँदा आफुलाई ज्यादै खुसी लागेको उनले बताए । प्रधानमन्त्री ओली नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्न रारा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्