
काठमाडौं, २ चैत
हिजो विक्रम संवत् २०७५ साल वैशाख १ गते अर्थात नयाँ वर्ष । नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइयो ।
सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।
नयाँ बर्षको पहिलो दिन हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।
यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् ।
नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताएकी छिन् ।
राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरेकी छिन् ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहेका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
उनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको उपराष्ट्रपतिको निजी सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशबासीको नाममा सम्बोधन गर्दै शुभकामना दिएका छन् । उनले निर्वाचनपछि बनेको वाम सरकारको बहुमत रहेको भन्दै आफूहरुको ध्यान विकास र समृद्धिमा रहेको बताएका छन् ।
यस्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल र जिम्मेवार निकाय दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
नयाँ वर्ष २०७५ सालको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली जनताको लामो त्याग र बलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधिमार्फत निर्माण भएको नेपालको संविधानबमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको ऐतिहासिक महत्वका निर्वाचन सम्पन्न भई संविधानको सफल कार्यान्वयन भइसकेको र संक्रमणकालीन राजनीतिबाट मुलुकले निकास पाएको उल्लेख गर्दै उनले यस ऐतिहासिक उपलब्धिपछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो र यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वाङ्गिण विकासमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।
यस्तै नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको कामना गरेका छन् ।
नयाँ वर्ष २०७५ सालको उपलक्ष्यमा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न सबैलाई विशेष अपील गरेका छन् ।
‘नयाँ वर्ष वि.सं. २०७५ सालको सुखद् उपलक्ष्यमा स्वेदश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ अध्यक्ष प्रचण्डले भनेका छन् ‘यस सुखद् अवसरमा २०७४ सालले हामीलाई दिएको स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अगाडि बढ्न म सबै नेपालीहरुमा विशेष अपील गर्दछु ।’
नयाँ संविधान कार्यान्वयन, राजनीतिक संक्रमणको अन्त्य गरी स्थिरता, विकास र समृद्धि हासिल गर्न २०७४ सालले आधार र उर्जा प्रदान गरेको भन्दै अध्यक्ष प्रचण्डले नेपाली इतिहासमा वि.सं. २०७४ साल अविस्मरणीय रहेको पनि बताएका छन् । ‘मुलूकमा संघीय प्रणालीको व्यवहारिक अभ्याससहित स्थानीय तह, प्रादेशिक र संघीय निर्वाचन सम्पन्न हुनु नेपाल र नेपालीका लागि गौरवको कुरा हो’ उहाँले शुभकामना सन्देशमा भनेका छन् ।
अध्यक्ष प्रचण्डले स्थिरता, शुसासन र समृद्धिको अभियानमा दृढतापूर्णक सहभागी हुन पनि सबै नेपालीलाई आह्वान गरेका छन् ।
यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय अस्तित्व क्षतविक्षत हुने अवस्थामा पुगेको बताएका छन् । नयाँ वर्ष २०७५ सालको अवसरमा एक शुभकामना विज्ञप्ति जारी गर्दै उनले मुलुकलाई शब्दजालको भूलभूलैयामा राखेर अन्ततः राष्ट्रिय अस्तित्व क्षतविक्षत तुल्याइने खतरा रहेको बताएका हुन् ।
शाहले विश्वका अधिकांश मुलुकले समुन्नत जीवन बाँचिरहँदा नेपालीले पनि त्यो चाहना राख्नु स्वभाविक भएको तर त्यसो हुन नसकेको संकेत जनाएका छन् । विज्ञप्तिमा पूर्वराजा शाहले राष्ट्रियता जनताको हार्दिकतासँग गाँसिएको संवेदनशील प्राणत्व भएको समेत स्पष्ट पारेका छन् ।
उनले आफुले एक नेपालीले अर्को नेपालीलाई देख्दा झस्कनु पर्ने अवस्था आउन नहुने बताउँदै शासक प्रशासकहरुको व्यवहार समेत जनमुखी हुनुपर्नेमा जोड दिएका छन् ।
नववर्षकै असरमा अन्तरिम मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित पूर्वप्रधानमन्त्रीहरु, विभिन्न राजधानीका दलका नेता तथा प्रमुखहरु तथा विभिन्न संघसंस्थाहरुले पनि शुभकामना दिएका छन् । -रातोपाटी





