हाम्रो संस्कृति, हाम्रो जात्रा



काठमाडौँ, २ वैशाख  २०७५
नेपालमा भौगोलिक विविधताको कारण जातजाति, संस्कृति, चाडपर्व एवं जात्रा पनि विविधता छ । यही विविध संस्कृति जात्रामध्ये मध्यपुर थिमीमा पनि आकर्षक जात्रा मनाइन्छ– बिस्का जात्रा । बिस्का नेवारी शब्द हो । यसको अर्थ छुट्टै, अलग वा स्वतन्त्र बसेको भन्ने हुन्छ । त्यसैले बिस्का जात्राको छुट्टै पहिचान र विशेषता छन् । बिस्का जात्राबाटै बिस्केट जात्रा हुनगएको देखिन्छ ।

प्राचीन कालदेखि काठमाडौं उपत्यकाका अधिकांश जनता कृषि क्षेत्रमा निर्भर थिए । प्रत्येक साल गहुँ, आलु लगायतको खेती लगाइसकेपछि फुर्सदको समयमा रमाइलोको लागि हाम्रा पुर्खाले उपत्यकाभित्र विभिन्न ठाउँमा जात्रा चलाउने गरेको पाइन्छ । वसन्त ऋतुको अन्त्य गृष्म ऋतुको सुरुवातताका विभिन्न जात्रा गर्ने चलन छ । चैतको अन्तिम दिनदेखि वैशाख २ गतेसम्म बिस्का मनाइन्छ । यसको सुरुवात जगज्योर्ति मल्लको पालादेखि भएको इतिहासमा उल्लेख पाइन्छ । यो जात्रा सुरु हुनु अगाडि मध्यपुर थिमीस्थित लाय्कु दरबारमा बालकुमारी गुठीका गुठियार, स्थानीय प:माहरू र स्थानीयबासीको रोहवरमा मूल देवता श्री बालकुमारीलाई सरकार एवं जनताले चढाइराखेको विभिन्न बहुमूल्य गहना, आभूषणहरू वितरण गर्ने गरिन्छ । त्यसपछि अन्य देवीदेवतालाई चढाइराखेको गहनाहरू वितरण गरिन्छ । जसलाई नेवारीमा तिसा पिकाय्गु भनिन्छ । जात्राको चार दिनअघि विशेष किसिमको बाजा (जसलाई बालकुमारीको मूल बाजा) बजाई थिमीमा परिक्रमा गरिन्छ, जसलाई नितं काय्गु भनिन्छ । त्यसपछि थिमीको कुनै बासिन्दाको मृत्यु हुँदा मलामी लाँदा बाजा बजाउन नपाइने, बिहे भएका छोरीहरू माइतीमा बस्न नहुने परम्परा छ, जुन अहिलेसम्म
कायमै छ ।

चैत अन्तिम दिन दिउँसो खड्गी थरका गुठीका व्यक्तिले छालाको विशेष भाँडो बोकी टोलटोलमा गई ‘थाहाँ बौ’ माग्ने चलन छ । ‘थाहाँ बौ’लाई बालकुमारी मन्दिर पुर्‍याएपछि साँझ विष्णुवीरको मूर्तिलाई पालो परेको गुठियारको घरबाट ल्याई विष्णुवीर मन्दिरमा प्रवेश गराइन्छ । यस क्रममा एकआपसमा अबिर छ्यापिन्छ । बेलुका टोलटोलका जात्रा गर्ने देवीदेवताको मूर्तिलाई पालो परेको घरबाट जात्रा गरी आआफ्नो मन्दिर प्रवेश गराइन्छ । वैशाख १ गते बिहान उज्यालो हुनुभन्दा अघि विभिन्न देवीदेवताको आराधना पूजा गरी लाय्कु दरबारको बालकुमारी मूर्तिलाई विशेष खालको तामाको बाटामा ल्याई खटमा राखी नायखीं बाजा, धिमेय बाजासहित जात्रा गरी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ ।

यो जात्रा राति हुनेहुँदा प्रत्येक घरबाट एउटा एउटा चिराग बोकी आउने चलन छ । बिहानको जात्रा आकर्षक हुन्छ । यसलाई बालकुमारी क्वहा: बिज्यागु भनिन्छ । बालकुमारी मन्दिरभित्र प्रवेश भइसकेपछि नायखीं बाजा, धिमेय बाजा, बालेको चिरागसहित दक्षिणबाराही, हरिसिद्धि, अजिमा देवीको पालो परेको घरमा गई देवीदेवताको मूर्तिलाई खटमा राखी जात्रा गरी ल्याइन्छ । थिमीको दक्षिण भेग हनुमन्ते खोलापारि अवस्थित दक्षिणबाराही, हरिसिद्धि देवीको मन्दिर परिक्रमा गराइन्छ । सोही देवीदेवतालाई जात्रा गरी बालकुमारी मन्दिर परिक्रमा गरी आआफ्नो स्थानमा राखिन्छ ।

त्यसपछि श्री बालकुमारी देवी लगायत जात्रा गर्ने देवीदेवताको गहना आभूषण लगायत पूजा गरी चढाइने कार्य सुरु हुन्छ । श्री बालकुमारीमा गहना, आभूषण चढाउने कार्य सम्पन्न भएपछि बालकुमारी मन्दिरभित्र दाँत नझरेका साना–साना ५ जना बालकहरूलाई भोज खुवाइन्छ । जसलाई कुम्हो भ्वय् भनिन्छ । कुम्हो भ्वय् सम्पन्न भइसकेपछि बालकुमारी मन्दिरको पूर्वतिरको पाटीमाथिबाट १ माना चामलको पिठोले बनाएको योमरी हुत्याएर चढाउने चलन छ, जसले योमरी मन्दिरभित्र छिराउन सक्छ, उसको मनोकांक्षा पूरा हुने जनधारणा छ ।

बालकुमारी मन्दिरमा योमरी चढाउने कार्य सम्पन्न भएपछि साँझको जात्रा (बायलिंसिया जात्रा) सुरु हुन्छ । बालकुमारी, दक्षिणबाराही, हरिसिद्धि, अजिमा देवीबाहेक अरू सबै जात्रा गर्ने देवीदेवताको मूर्तिलाई खटमा राखी जात्रा गरिन्छ । विष्णुवीर, सिद्धिकालीको आआफ्नो गणसहित जात्रा गरिन्छ । विष्णुवीरको जात्रा सुरु भएपछि मन्दिरको पूर्वतिर खाल्डोमा विष्णुवीरलाई तर्साउन सक्ने भूतप्रेत रहेको मानिन्छ । सो ठाउँमा जात्रामा आउने सबैले टोपी फुकाली मलामी गएको जस्तो शान्त भई मलामी लाँदा बजाउने सी बाजा बजाई ल्याइन्छ । निश्चित ठाउँ काटिसकेपछि पुन: बाजा बजाई हर्षोल्लासका साथ एकआपसमा अबिर खेली जात्रा सुरु हुन्छ । विष्णुवीर, सिद्धिकालीको आआफ्नो गणसहित विभिन्न देवीदेवतालाई जात्रा गरी थिमी परिक्रमा गरी बेलुका आआफ्नो निश्चित स्थानमा विराजमान गराइसकेपछि सन्ध्याकालीन जात्रा सम्पन्न हुन्छ ।

वैशाख २ गते बिहान उज्यालो हुनुपूर्व बालकुमारीको खटलाई बाहिर निकाली मन्दिर अगाडि राखिन्छ । त्यसपछि सिद्धिकालीको गण र अन्य देवीदेवतालाई जात्रा गरी थिमी परिक्रमा गरी बालकुमारी ल्याई आआफ्नो स्थानमा राखिन्छ । यो समयको जात्रा अति रमणीय, आनन्ददायक, मनमोहक हुन्छ, किनकि जात्रा गर्ने सम्पूर्ण खट बालकुमारी मन्दिर वरिपरि नै हुन्छ । जात्रामा आआफ्नो समूहमा धिमेबाजा बजाई नाचगान गरी एकआपसमा अबिर छ्यापी दली मैत्रीभावना साटासाट गरिन्छ । वंशावली अनुसार पालैपालो खट उठाइन्छ । आआफ्नो गणसहित बालकुमारी मन्दिर परिक्रमा गरिन्छ । बालकुमारीको खट अगाडि चारवटा दीयोको पालासहित चिराग हुन्छ । उक्त चिराग बालेपछि बालकुमारीको खट उठाइन्छ । बालकुमारी मन्दिर परिक्रमा बालकुमारी खटलाई थिमी दिगुटोलस्थित प्रचण्ड भैरवको मन्दिर परिक्रमा गरी ३ चोटी तलमाथि गरी जात्रा गरिन्छ । चारवटा दीयो भएको चिराग लाय्कु दरबारभित्र छिरेपछि बालकुमारीको खटलाई लाय्कुभित्र लगी विराजमान गराइन्छ । त्यसपछि अन्य देवीदेवताको खट जात्रासहित आआफ्नो पालोको घरमा लगी विराजमान गराइन्छ । यसरी सम्पूर्ण देवीदेवताको खट विराजमान भइसकेपछि बिहानको जात्रा समाप्त हुन्छ ।

मध्यपुर थिमीको बिस्का जात्रालाई ३२ खटको जात्रा भनिन्छ । थिमी, नगदेश, बोडे, टिकनीको खटसहित ३२ वटा खट हुन्छ । अहिले नगदेश, बोडे, टिकनीको खट थिमीमा ल्याउने चलन बन्द भइसकेको छ । नगदेशमा सिद्धिगणेश, बोडेमा महालक्ष्मी र अन्य देवीदेवता र टिकनीमा नीलबाराही र अन्य देवीदेवताको जात्रा गरिन्छ । वैशाख २ गते दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा हुन्छ, जुन अद्यापि चल्दैछ । केही वर्ष अघिदेखि थिमीको पश्चिम भेग लोहकिन्थलीमा पनि सिद्धिकालीलाई खटमा राखी जात्रा गर्न सुरु भएको छ ।

यस जात्रामा ठूलो ठूलो धिमाय र काँसको भुस्या बजाइन्छ । धिमाय बाजाको आफ्नै ताल, सुर हुन्छ । सोही ताल, सुरमा नाचेको नाच अति आकर्षण हुन्छ । जात्रा गर्ने खट सबै पागौडा शैलीका छन्, सबै खटमा आकर्षक छत्र घुमिरहेको हुन्छ । जात्रामा आउनेहरूबीच अबिर दली छ्यापी धिमेय बाजोको तालमा नाचगान गरिने र खटसमेत अबिरले रंग्याइने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिन्छ । यो मित्रता, सद्भाव, मेलमिलापको जात्रा पनि हो । किनकि यस जात्राले एकअर्काप्रति रहेको पुरानो रिस, राग, द्वेष, घमन्ड हटाएर आपसी प्रेम, माया, हार्दिकता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

-लक्ष्मीकृष्ण श्रेष्ठ उच्च अदालतका पूर्वन्यायाधीश हुन् । (कान्तिपुर दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्