धर्म सम्वन्धी मार्क्सको व्याख्यालाई न मार्क्सका अनुयायीहरुले बुझे न त विरोधीहरुले नै : टंक कार्की, नेता नेकपा एमाले (भिडियो सहित)



काठमाडौँ, १ वैशाख २०७५

एमाले नेता टंक कार्कीले परिवर्तन खबरद्वारा आयोजित एक अन्तरक्रिया कार्यक्रममा भने, “कम्युनिष्टहरु धर्मलाई अफिम भन्छन्।” तर मार्क्सको व्याख्यालाई न मार्क्सका अनुयायीहरुले बुझे न त विरोधीहरुले नै ।  हो, मार्क्सले सन् १८४४ मा धर्मलाई अफिम भनेका हुन् तर त्यतिखेर अफिम लागुपदार्थको रुपमा प्रयोग नभएर पेनकिलर औषधिको रुपमा प्रयोग हुन्थ्यो । त्यस समयमा ठूला-ठूला अप्रेशन गर्ने बेलामा पेनकिलरको रुपमा  अफिमको प्रयोग गरिन्थ्यो । मार्क्सले अफिम हो भन्ने बेलामा, धर्मलाई दु:खी प्राणीको सुस्केरा हो पनि भनेका छन् । यद्धपी उनी अलौकिक शक्तिको विश्वास गर्दैनथे ।

नेता कार्कीले चिनियाँ कम्युनिष्ट नेता माओत्सेतुङ र उनका सहयोगीले मर्निङ वाक गर्दा बौद्ध गुम्बा दर्शन सन्दर्भलाई पनि जोडे । मर्निङ वाकमा माओ सहयोगीलाई भन्छन्,” जाउँ न एउटा बुद्धिष्ट गुम्बा घुम्यौ !” आश्चर्य मान्दै सहयोगी माओलाई भन्छन् ,”त्यो अन्धविश्वासको जडमा के छ र हेर्न जाने ?’ माओले आफ्नो सहयोगीलाई जवाफ दिंदै भने,’ तँ एकल काटे, तेरो बुद्धि एकल काटे, तँलाई थाहा छैन, विगत २००० वर्ष देखि बुद्धिजम चिनियाँ संस्कृतिको अभिन्न अंग हो ।’

धर्म एउटा संस्कृति हो । धर्म एउटा अलौकिक शक्ति माथिको विश्वास हो । अलौकिक शक्ति मान्ने कुरा व्यक्तिगत हुन सक्छ तर संस्कृति मान्नु पर्छ भन्ने सवालमा मार्क्सदेखि माओसम्मले स्वीकार गरेका छन् । हामीले पनि स्वीकार गर्नुपर्छ । हाम्रो संस्कृति नै हाम्रो पहिचान हो ।

बन्दुक र बारुदले मात्र हैन, दुनियाँलाई संस्कृतिमाथि पनि एकछत्र बर्चस्व पार्नुपर्छ भन्ने मान्यता पश्चिमीहरुको छ । उनीहरुले पूर्वीय सभ्यतामा आधारित भारतीय संस्कृतिलाई सखाप पारेको अनुभव भारतबाट बटुलेका छन् । हाम्रो संस्कृतिलाई सखाप पार्नको लागि क्रिश्चियानिटीलाई औजारको रुपमा प्रयोग गरिरहेका छन् ।

हामीले हाम्रो धर्म, संस्कृति, परम्परालाई जगेर्णा गर्ने हो भने हामी भित्रका आन्तरिक शक्तिहरु एक हुनुपर्नेमा पनि उनले जोड दिए । हाम्रो संस्कृतिमा हिन्दू धर्म र बौद्ध धर्म सह-अस्तित्व रहेका छन् ।  उनले थपे बुढानिलकण्ठ जानुस्, माथिटाउको बुद्धको, निधार शिवको, शरीर विष्णुको,  खुट्टा कृष्णको र तल खराउ रामको छ । त्यतिमात्र हैन पशुपतिनाथमा कात्तिक शुक्ल अष्टमीको दिन ज्वातिर्लिंगलाई मुकुट लगाएर बुद्धको रुपमा पुजिन्छ । बार्हौ शताब्दीसम्म पशुपतिको मुख्य गुरु भनेको जयबागेश्वरीको बुद्धिष्ट बज्राचार्य हैन र ! त्यसपछि चाँगुनारायण मन्दिरमा जानुस्,” चाँगुनारायण मन्दिरमा हामी विष्णु भनेर पूजा गर्छौ, बुद्धिष्टहरु अमरक्रितेश्वर भनेर पुज्दछन । त्यहाँ बुद्ध पनि छन्, पछाडिपट्टि मन्जुश्रीको प्रतिमा पनि छ । हामी सबै सह-अस्थित्वमा छौं – कार्कीले भने ।

हामी सामाजिक र धार्मिक विविधतामा रहेका शक्तिहरु एकठाउँमा आउनुपर्छ । आज क्रिस्चियनहरु राउटे बस्तीमा पुगेका छन् । हामी चै जजमान खोज्दै हिडेका छौं, ठूला धर्म गुरु खोज्दै हिडेका छौं, राम्रो खान र लाउन कहाँ पाउँछौ त्यतातिर लागेका छौं । अनि त्यो गरिब जीविकोपार्जनको लागि पछि लाग्नु स्वाभाविक नै हो !

हामी, नजानिँदो ढंगले तेश्रो विश्व युद्धमा प्रवेश गरिसकेका छौं । युद्ध, हिजोको जस्तो परम्परागत ढाँचामा हैन, बेलायतले रसियन कुटनीतिज्ञ निकाल्छ, त्यसको प्रतिक्रिया स्वरूप रुसले नि निकाल्छ, हुँदा हुँदा आज २६ राष्ट्रले कुटनीतिज्ञ निकाली सके ।  केहि समय अघि चीन र भारत आम्ने साम्ने थिए । अहिले चीन र अमेरिकाको ब्यापार युद्ध भैरहेको छ । हामी सजिलो दुनियाँमा छैनौं । यसको लागि उनीहरु सबै प्रकारका हतियारको प्रयोग गर्दछन ।

कार्कीले थप जोड दिए, ‘हामी जस्ता स-साना मुलुकहरुले आफूभित्रको शक्तिलाई एकीकृत गर्नुपर्छ । न हिजो हामीलाई अंग्रेजले हराउन सके । हामी मिल्यौ भने, आफ्नो पोको दरिलो बनायौ भने, यो दुनियाँको कुनै पनि शक्तिले हामीलाई कहिल्यै हल्लाउन सक्दैन ।

बीपीलाई म कहिलेकाहिँ सम्झन्छु, उनले भनेका छन्,”विदेशीहरुले जतिसुकै टाउको फोरुन, यो मुलुक रहन्छ, रहन्छ, रहन्छ किनभने चाहे काठमाण्डौका नेवारहरु हुन्, पहाडका जनजाति हुन् या तराईका मधेशीहरु हुन, तिनीहरुमा जबर्जस्त राष्ट्रीयताको भावना प्रदर्शन भै रहेको छ ।”

भारतले हामीलाई आर्थिक नाकाबन्दी लगाउनु अगाडि भुटानमा त्यसै गरेर सफल भएको थियो । तर हाम्रो एकताले उनीहरु नै गोलबल्ड्याङ् खाए ।

अहिले जे घटनाहरु भैरहेका छन्, यसलाई हामीले असंवेदनशील हैन । जिम्मेवार, गम्भीर, संवेदनशील भएर बुझ्नुपर्छ । अधिकार र सभ्यताको नाममा जसरी पश्चिमाहरू हाम्रो धर्म संस्कृतिलाई मास्न विभिन्न ढंगले लागेका छन् । एकतामा रहेका हामीहरुलाई विभाजन गर्न लागेका छन् । नेपाललाई प्लेटफर्म बनाउन कोशिस गरिरहेका छन् । यसको रणनैतिक महत्वले भारत र चीनलाई समेत प्रभाव पार्छ भने हामीलाई त झन धेरै असर पर्छ नै । उनीहरु आजको, भोलिको लागि हैन, ५० देखि १०० बर्ष पछि के गर्ने भन्ने योजनाका साथ आएका छन् । हामी सबैले समयमा नै बुझ्नुपर्छ -उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्