आस्था कि अन्धविश्वास : मोटरसाइकलमा सर्प भेटेपछि पूजा गर्नेको भीड



हाम्रो देशमा ढुङ्गामा पनि देउता देख्ने चलन छ । कुनै ठाउमा रातो हालेर काठमै किन नहोस् देउता हो भन्यो भने पुज्ने गर्छौ हामी । पशु होस् या बस्तु हामी भगवानको प्रतिक मान्छौ ।

यस्तैमा सल्यानको कपुरकोटमा मोटरसाइकलमा सर्प भेटिएपछि सर्प देवता भन्दै पूजा र दर्शन गर्नेहरुको भीड लागेको छ । भगवानको स्वरुप भन्दै स्थानीयहरु गत रातीदेखि नै सर्पको दर्शन गरिरहेका छन् ।

मोटरसाइकलका धनी कपुरकोट ३ पाखापानीका खिमेन्द्र सेनका अनुसार मंगलबार साँझ ७ बजेतिर खिमेन्द्र सेनलाई घरतर्फ जानेक्रममा सर्पले बजार नजिकै बाटो छेकेको थियो । त्यसपछि सेन मोटरसाइकलबाट झरेर केहि व्यक्तिलाइ सर्पले बाटो छेकेको खबर गरेका थिए ।

खबर पाएपछि रेडियो कपुरकोटका स्टेशन मेनेजर सन्तोष घर्ती र कपुरकोट बजार व्यवस्थापन समितीका अध्यक्ष रुपक बुढा त्यस स्थानमा गएका थिए । प्रत्यक्षदर्शीको दाबी अनुसार शुरुमा सर्प सेनको ग ८ प ६८२९ नम्बरको मोटरसाइकलमा चढेको थियो र पछि त्यहाँबाट उत्रेर केही पर रोकि राखेको अध्यक्ष बुढाको रा ३ प २४११ नम्बरको मोटरसाइकलमा चढेको थियो ।

समाचार तयार पार्दासम्म सर्प मोटरसाइकलमै रहेको थियो । यस घटनापछि कपुरकोट ५ मा बस्दै आएका जय गुरुदेव बाबा लगायतले पूजाअर्चना गरेको स्थानीय डिल बहादुर बुढाथोकीले बताएका छन् । स्थानीयहरु रातभर सर्प भएको स्थानमा जाग्राम बसेका थिए । कुनै दैवी शक्ति भएको भन्दै स्थानीयहरुको भीड लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्