एउटा डिनरको मूल्य १ लाख रुपैया भन्दा धेरै



काठमाडौं, २७ चैत

एकजना ब्यक्तिले बीस महिनामा बीस देश घुमेर बीस वटा घुमन्ते रेष्टुराँ चलाउँछु भने । गएको वर्ष डिसेम्बरको दोस्रो हप्ता उनी सहित उनको टीम नेपाल आईपुग्यो । टेकिङ्गमा उनीहरुले दुई हप्ता बिताए । र संसारभरिबाट आएका पाहुना र केही शेर्पालाई सत्र हजार छ सय फिट माथि रहेको ठाँउमा डिनर खुवाए ।

त्यो ठाँउमा डिनर खान आवदेन मागियो । जताततैका खाना पारखीहरुले ‘म पनि जान्छु भन्दै’ चासो देखाए । यस्तो चासो देखाउनेहरुको संख्या करिब सात हजार पुग्यो । तर, विश्वभरिका करिब १५ जना ब्यक्तिले मात्र त्यो उचाईमा डिनर खाने सौभाग्य पाए । जहाँ सहभागी हुन उनीहरुले प्रति ब्यक्ति १ लाख १० हजार रुपैया तिरेका थिए ।

त्यस्तो घुमन्ते रेष्टुराँ चलाउने ब्यक्ति हुन्, प्रख्यात सेफ जेम्स सेरमेन । र, त्यो ठाँउ हो, हाम्रै सगरमाथा बेसक्याम्प ।

२५ वर्षीय सेफ जेम्स सेरमेनले मौलिक र साहसिक यात्राको क्रममा सगरमाथा बेसक्याम्पमा यस्तो डिनरको आयोजना गरेका थिए । जसलाई साहसिक स्वाद पनि भनिएको थियो । यसअघि उनले चीन, थाईल्याण्ड जस्ता देशमा यस्तो डिनरको आयोजना गरिसकेका थिए । वन स्टार हाउस पार्टी नाम दिइएको डिनरमा सहभागी हुन हङकङ, सिंगापुर, अमेरिका र बेलायत लगायतका स्वाद पारखी वेस क्याम्पमा भेला भएका थिए ।

अंग्रेजीमा पप अप अनि नेपालीमा घुमन्ते रेष्टुराँ भनिने यस्तोे अवधारणामा अहिले विश्वरभर विभिन्न थिममा रेष्टुराँहरु चलाईएका हुन्छन् । बिकसित मुलुकहरुमा यस्तो रेष्टुराँको माग र आपूर्ति दुवै बढि छ ।

 

भनिन्छ, पप अप विजनेसको विश्व बजार करिब पचास विलियन डलरको छ । ग्लोबल एकेडेमी अफ टुरिज्जम एण्ड हस्पिटालिटी एजुकेसन (गेट) जस्ता कलेजले कहिलेकाँही कुटनितीक जमघटका लागि यस्तो रेष्टुराँ चलाएको भएपनि नेपालमा यो अवधारणा त्यति धेरै विकसित हुनसकेको छैन् ।

घुमन्ते रेष्टुराँको कुनै निश्चित स्थान नहुने भएकोले यस्तो रेष्टुराँ अनौठो ठाँउहरुमा राखिन्छ, त्यो पनि निश्चित समयसम्मका लागि मात्र । अनि त्यस्ता रेष्टुराँको बारेमा अनलाइनबाटै जानकारी दिईन्छ अनि अनलाईनवाटै बुकिङ्ग गरिन्छ ।

हाम्रो जस्तो पर्यटकीय मुलुकमा यो एउटा राम्रो बिजनेस कन्सेप्ट हुनसक्छ । हामी पर्यटकलाई कि त पोखरा, कि चितवन, कि त पदयात्रामा लैजान्छौ, तर यस्तै नौलो योजना ल्याएर त्यसलाई पर्यटनसँग जोड्ने हो यसवाट निकै राम्रो व्यापार गर्न सकिन्छ । पप अप रेष्टुराँ के हो ? र कसरी गर्ने ? अर्को कथामा ।

प्रतिक्रिया दिनुहोस्