
विराटनगर । रुस्लान थ्रीस्टार क्बलले पाँचौ विराट गोल्डकपको उपाधि जितेको छ ।
विराटनगरको सहिद रङ्गशालामा सोमबार राति सम्पन्न फाइनल खेलमा विभागिय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै रुस्लान थ्री स्टार क्बलले विराट गोल्डकपको उपाधि जितेको हो ।
थ्रीस्टारको जितमा विमल घर्तीमगरले दुई गोल र अनन्त तामाङले एक गोल गरेका थिए ।
खेलको पहिलो हाफ बिना कुनै गोल बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको ५६औ मिनेटमा थ्रीस्टारका अन्नत तामाङले गोल गर्दै थ्रीस्टारलाई सुरुवाती अग्रता दिलाएका थिए । अन्नतले विमल घर्तिमगरले प्रहार गरेको कर्नरलाई डिबक्स भित्रबाट हेडिङ गर्दै गोल गरेका थिए ।
त्यसपछि खेलको ७५औ मिनेटमा थ्रीस्टारका माटिन्सलाई आर्मीका जितेन्द्र कार्कीले डिबक्स भित्र लडाएपछि थ्री स्टारले पेलान्टी पाएको थियो । पेलान्टीलाई सदुपयोग गर्दै विमल घर्ति मगरले गोल गर्दै थ्रीस्टारको अग्रतालाई दोब्बर पारेका थिए । त्यसपछि खेलको ८८औं मिनेटमा थ्री स्टारका विमल घर्ति मगरले करिब ३० यार्डबाट प्रहार गर्दै गोल गरे र थ्रीस्टारलाई ३-० को सहज जित दिलाउदै उपाधि दिलाएका थिए ।
डेढ वर्ष पछी फुटबल खेलमा फर्किएर १० फाइनल खेलेको थ्रीस्टारले विराट गोल्डकपसंगै यो सिजनमा पाँचौं उपाधि जितेको छ । थ्रीस्टारले गत माघमा सम्पन्न भएको सिमरा गोल्ड कपको फाइनलमा आर्मीसँग २–० गोल अन्तरले पराजित भएको बदलासमेत यस प्रतियोगितामामा लिएको छ ।
थ्रीस्टारले इटहरीमा सम्पन्न मदन भण्डारी गोल्डकप, धरानमा बुडासुब्बा गोल्डकप र बुटवलको मदन भण्डारी गोल्डकप र बुटवलकै तिलोत्तमा गोल्डकप जितेको थियो । त्यस्तै आर्मीले सिजनको विरगञ्जको विशाल मेमोरियल, झापा झिलझिलेको सताक्षी, मेची नेत्रालय काँकडभित्ता, धनगढीको खप्तड, बाराको सिमरा, हेटौंडाको समुन बम्भज स्मृति र झापा गोल्डकपको उपाधि जितेको छ ।
जितसँगै रुस्लान थ्रिस्टारले नगद १२ लाख ७१ हजार रुपैयाँसहित ट्रफि पायो भने भने आर्मीले पाँच लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ ।
खेलको म्यान अफ फाइनल थ्रीस्टारका मार्टिन्स घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको उत्कृष्ट खेलाडि थ्रीस्टार अनन्त तमाङ घोषित भए । उनले मोटरसाइल पाए भने उत्कृष्ट डिफेन्स आर्मीका बिमल पाण्डे , उत्कृष्ट फरवार्डमा आर्मीका कप्तान भरत खवास, उत्कृष्ट मिड फिल्डरमा थ्री स्टारको सुनिल वल घोषित भए ।
हाइस्कोर थ्रीस्टारका विमल घर्तीमगर घोषित भए । उनले प्रतियोगिताभर चार गोल गरे । उत्कृष्ट किपर थ्रीस्टारका एलन न्यौपाने भए । उत्कृष्ट प्रशिक्षक थ्रीस्टारका मेघराज केसी घोषित भए भने उत्कृष्ट व्यवस्थापक थ्रीस्टारकै मुकेश नकर्मी घोषित भए । प्रतियोगिता भरीको अनुशाति टिम नेपाल पुलिस क्बल घोषित भए । उनीहरुले जनही २५-२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।





