शत्रु गते लिएर पल शाह जापानमा



नायक पल शाह जापान आइपुगेका छन् । उनी आफू अभिनित चलचित्र ‘शत्रु गते’ प्रदर्शनका लागी शनिबार जापानको टोकियो आइपुगेका हुन् ।

पललाई ए-वान इन्टरटेन्मेन्टका अध्यक्ष एवं डिजे जोन छन्त्याल, प्रबन्धक निर्देशक कृष्ण लामा, म नेपाली ग्रुपका अध्यक्ष स्मृति आचार्य, पत्रकार रबिन्द्र गोर्खाली, आरोही सुबेदी, सरोज आचार्य, अर्जुन गौतम लगायतले टोकियोस्थित हानिदा एअरपोर्टमा भव्य स्वागत गरेका छन् । शनिबार अबेर टोकियोस्थित हानिदा एअरपोर्टमा ओर्लिएका पललाई आयेजक टोलीले पुष्पगुच्छाले स्वागत गरेको छ ।

नेपालभर सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘शत्रु गते’को खुशी साट्न आफु जापानको टोकियो आइपुगेको उनले बताए । पलले एअरपोर्टबाटै टोकियोस्थित नाकानो जिरो हलमा सम्पूर्ण जापानवासी नेपालीहरुलाई निम्तो दिंदै भने, ‘चलचित्रलाई जापानबासी नेपालीहरुले पनि नेपालकोझैं माया र मन पराईदिनुहुनेछ, म विश्वस्त छु ।’

बहुप्रतिक्षित मानिएको चलचित्र ‘शत्रु गते’ आइतबार टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुँदैछ । जापानभर चलचित्र प्रदर्शनको जिम्मा लिएको ए-वान इन्टरटेन्मेन्टले पनि सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।

निर्देशक लामाले टोकियोबाहिरबाट पनि धेरै टिकट बुकिङका लागि आएकोले पनि आज हाउसफुलका साथ चलचित्रको शो हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिए । चलचित्र ‘शत्रु गते’को टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा प्रदर्शन हुने निर्देशक लामा बताए ।

प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्