रारामा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य



सुर्खेत, २४ चैत

कर्णाली प्रदेश सरकारले रारामा एक वर्षमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । रारामा आउने पर्यटकका लागि सडकमार्गको स्तरोन्नति, आवास र भोजन व्यवस्थापनलाई सरकारले प्रमुख चुनौतिका रुपमा लिएको कर्णाली सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले बताउनुभयो ।

निजी क्षेत्रसँग सहकार्य गरेर यी चुनौतीलाई अवसरमा बदल्ने उहाँको भनाइ छ । सुर्खेतदेखि रारातालसम्मको दुई सय ९४ किलोमिटर सडकको स्तरोन्नतिको काम शुरु गरिएको मन्त्री केसीले जानकारी दिनुभयो । पर्यटन वर्ष उद्घाटनका लागि आउने प्रधानमन्त्रीसहितका पाहुनालाई स्थानीय उत्पादन कर्णालीको जुम्लीमार्सी, फापर, कोदोलगायतका परिकार उपहारमा दिइने पनि उहाँले बताउनुभयो ।

चार स्थानबाट उद्घाटन हुने

पर्यटन वर्षको सुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालसहित चार स्थानबाट गर्नुहुने भएको छ । प्रधानमन्त्री ओली रारासँगै चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा, डोल्पाको शे–फोक्सुण्डो र कालिकोटको पाँचालझरना पुगेर पर्यटन वर्षको शुभारम्भ गर्ने उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढाले जानकारी दिनुभयो ।

कर्णालीको समृद्धि र विकासका लागि २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय प्रदेश सरकारको हो । (रासस)

प्रतिक्रिया दिनुहोस्