चोरलाई समर्थन गर्नेलाई पनि पाता कस्नुपर्छ : गायक राजेशपायल राई



अनमोल केसी अभिनित फिल्म ‘कृ’को ‘उकालीमा अघिअघि’ गीत चोरीको विवादलाई लिएर गायक राजेशपायल राईंले सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सिर्जना चोरी गर्नेविरुद्ध कडा अभिव्यक्ति दिँदै लेखेका छन्, ‘ एक पैसा चोरे नि दुइ रुपैया चोरे नि चोर त चोरै हो र चोरलाई समर्थन गर्ने पनि अपराधी हुन । यस्तो अपराधलाई प्रश्रय दिनेलाई पनि पाता कस्नु पर्छ । सृजना लाई सम्मान गरौ । ’

आफ्नो अफिसियल फेसबुक पेजमा उनले गीत चोरी प्रकरणबारे शुक्रबारले लेखेको स्टोरीको लिंक सेयर गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

एक महिनाअघि मात्रै रिलिज भएको फिल्म ‘कृ’मा पुरानो फिल्म ‘सम्झना’को ‘उकालीमा अघिअघि’ गीत बिनाअनुमति प्रयोग गरेको आरोपमा यसका निर्माता सुवास गिरी गत चैत १३ गते मंगलबार गीत चोरीको अभियोगमा प्रहरी नियन्त्रणमा समेत परेका थिए । उनीविरुद्ध ‘सम्झना’का निर्माता÷निर्देशक शम्भु प्रधानको उजुरी थियो ।

प्रधानको आरोपझैँ फिल्मको गीतको केही अंश जस्ताको तस्तै प्रयोग भएको थियो। प्रधानले फिल्मका निर्माताविरुद्ध प्रहरीमा उजुरी गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले गिरीलाई अघिल्लो साताको मंगलबार छलफलका लागि बोलाउँदै एक रात हिरासतमा राखेको थियो । भोलिपल्ट गीतको लय र शब्द ‘चोरी’ गरेबापत निर्माता गिरीले प्रधानलाई ११ लाख रुपैयाँ क्षतिपूर्ति दिएर गीत हटाउने सहमति गरेपछि केस प्रहरी परिसरमै सल्टिएको थियो ।

क्षतिपूर्ति तिरेर प्रहरी हिरासतबाट उम्किएका निर्माता गिरीले बुधबार प्रेस मिट राखेर प्रहरीले अपहरणशैलीमा थुनेको र आफूलाई जबरजस्ती पैसा तिर्न लगाएको आरोप लगाएपछि यो प्रकरणले झन ठूलो चर्चा पाएको हो ।

उनले जे–जस्तो आरोप लगाए पनि उनले क्षतिपूर्ति रकम तिरे अनि प्रतिलिपि अधिकार उलंघनको आरोप लागेको गीतको लय ‘कृ’ बाट हटाए पनि । यता अधिकांश फिल्मकर्मी चोरीको गीत प्रयोग भएको स्वीकार्दै क्षतिपूर्ति तिरिसक्दा पनि माहोल निर्माता गिरीको पक्षमा छ भने निर्देशक प्रधानको विरुद्धमा।

यस घटनापछि बौद्धिक चोरीलाई लिएर रचनात्मक र बौद्धिक बहस सुरु हुने अपेक्षा थियो तर धेरै फिल्मकर्मी शम्भुसँग चिढिएर प्रस्तुत भइरहेका छन्, उनीविरुद्ध खनिएका छन् । यस्तो अवस्थामा गायक राई शम्भुको पक्षमा देखिएका हुन् ।

संगीतकर्मी र यससँग सम्बन्धीत संघसंस्थासमेत मौन देखिएका बेला उनले दिएको अभिव्यक्तिलाई उनको प्रशंसकहरुले अहिले स्वागत गरिरहेका छन् । उनको स्ट्याटसमुनि विनोद सुनालको कमेन्ट छ, ‘असल मान्छेको असल कुरा । दाजुको कुरा १ सय पर्सेन्ट सहि हो । कुरा नबुझि सुवासजी (कृका निर्माता) लाई मात्र साथ दिएर फिल्मका पुराना हस्ती (शम्भु प्रधान)लाई अपमान गरेकै हो । (साभार : शुक्रबारबाट)

प्रतिक्रिया दिनुहोस्