
काठमाडौं, २३ चैत
१३ चैतमा बसेको मन्त्रिपरिषद् बैठकमा आत्मनिर्भर अर्थतन्त्रको बहस भयो । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्ने तयारीमा रहेको श्वेतपत्रबारे छलफल पनि भयो । खतिवडाले निर्यातभन्दा आयातको अवस्था भयावह रहेको उल्लेख गरेका थिए त्यही बैठकमा । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मनिर्भरताबारे केहीबेर बोले ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि आत्मनिर्भरताका लागि केही न केही योगदान गर्न अपिल गरे । निक्कै गम्भीर मुडमा देखिएका प्रधानमन्त्रीले आयात केही न केही भए पनि घटाउन नसके आफूहरुले गरेका जति पनि कामको कुनै अर्थ नहुने बताएका थिए ।
एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रालय अन्तर्गतका वस्तु आयात घटाउन योजना बनाउनसमेत निर्देशन दिएका थिए । ‘योजना बनाएर हुन्छ कि आफ्नो दैनिकीमा सक्नुहुन्छ आयात घटाउन केही न केही योगदान दिनुहोस्,’ आसन्न भारत भ्रमणको कार्यक्रमबारे पनि छलफल गर्न बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले भनेका थिए, ‘यो काम आजैबाट सुरु गर्नुहोस् ।’ प्रधानमन्त्रीले आत्मनिर्भरसँगै मन्त्रीहरुले व्यक्तिगत र मन्त्रालयगत खर्च घटाउन पनि निर्देशन दिएका थिए ।
मन्त्रिपरिषद् बैठकबाट मन्त्रालय हिंडेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानमन्त्रीको निर्देशन कसरी कार्यान्वयन गर्ने भन्ने सोच बनाइरहेका थिए । केही दिनअघि प्रदेश सांसदसमेत रहेकी श्रीमती उषाकला राईले मन्त्री क्वाटर पछाडिको जग्गा उपयोग गर्न भनिरहेकी थिइन् ।
मन्त्री तामाङको दिमागमा त्यही कुरा बल्झियो । कम्तिमा मन्त्री क्वाटर पछाडि रहेको झण्डै डेढ रोपनी जग्गामा तरकारी फलाउने योजना उनले बताए । १७ चैत सोमबार बिहान मन्त्री निवासमा रहेको जग्गामा तरकारी लगाउन खनजोत गरे ।
सोमबार बिहान मन्त्री तामाङसँगै उनकी श्रीमती प्रदेश १ की सांसद् उषाकला राईले पनि पावर ट्रेलर चलाउन सहयोग गरिन् । उनले क्वाटरमा कार्यरत कर्मचारीलाई क्वाटरमा पुग्ने तरकारी निवास वरिपरिको जग्गामा फलाउन निर्देशन समेत दिएका छन् ।
मन्त्री तामाङले जमीन बाँझो राखेर खाद्यान्न आयात गर्ने क्रम रोक्नका लागि आफूले यहाँको जमीन खनजोत गर्न थालेको बताए । मन्त्री क्वाटरमा रहेको जमीनमा तरकारी लगाए आफ्नो लागि पर्याप्त हुने उनले बताए । उनले भनेका थिए, ‘अब सबै मन्त्रीहरूमा कसले राम्रो तरकारी फलाउने भन्ने प्रतिस्पर्धा हुनुपर्छ । प्रसँग नमिलेपनि आज आफू बस्ने क्वार्टरको बाँझो जग्गा जोतेर तरकारी लगाउने सानो प्रयास गरेको हुँ ।’
नेपालमा भित्रिने धेरै विप्रेषण खाद्यान्न खरिदकै लागि विदेशिने गरेको छ । झण्डै १ खर्ब खाद्यान्नका लागि बाहिरिने गरेको तथ्याङ्क छ । दुई वर्षमा नै नेपाललाई खाद्यान्न, फलफूल, दूध लगायतमा आत्मनिर्भर बनाउने वाम गठबन्धनको घोषणापत्रमा छ ।
कानुन मन्त्री तामाङले आगामी नीति तथा कार्यक्रम र बजेटमा सरकारले जग्गा बाँझो नराख्न आवश्यक व्यवस्था गर्नेछ भने कानुन मन्त्रालयले कानुन नै बनाउने तयारी गरेको छ ।
कानुन मन्त्रीले तरकारी खेती गरिरहँदा सम्भवतः अबको ६ महिनामा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माछा उत्पादन हुँदैछ । बालुवाटारमा सैनिक भवनको पछाडिपट्टि माछा पालन गर्ने तयारी भइरहेको छ ।
सरकारी निवास परिसरमा रहेको ५ रोपनीभन्दा बढी जग्गामध्ये एक रोपनीमा पोखरी बनाएर माछा पालन गर्ने तयारी सहरी विकास मन्त्रालयको छ । माछा पोखरीको बीचसम्मै पुग्न रानीपोखरी शैलीमा रेलिङ र आरामगृह बनाइएको छ ।





