वास्तवमा किन बोल्दैनन् महिला ?



काठमाडौं, २२ चैत

तामाङ समुदायको नयाँ वर्ष सुरु हुने माघे संक्रान्तिको दिन बिहानै मोबाइलको घन्टी बज्यो। मोबाइलमा केहीबेरको बातचितले स्तब्ध बनायो। उमेरले ३० पुग्दै गरेकी उनको घरलाई नयाँ वर्षले भताभुंग पारिदियो। १२ कक्षा पढ्दापढ्दै मन पराएको केटासँग भागी विवाह गरेकी उनी खुसी नै थिइन्। एकाध वर्षपछि जन्मिएको एक सन्तानलाई हुर्काउँदै उनले घरपरिवार पनि सम्हाल्दै आएकी थिइन् र वैदेशिक रोजगारमा रहेका जीवनसाथी आउने उल्लासको दिन पर्खिबसेकी थिइन्। उल्लासको प्रतीक्षा गर्दागर्दा उनै जीवनसाथीले उडाइदिए घरमा सौता भिœयाएर। जीवनसाथीप्रति किशोरकालदेखि साँची राखेको विश्वास एकपलमै असिना झैं बिलायो।

‘दिदी, मेरो त सर्वस्व गयो। जीवनसाथीले उतै विदेशमा भेटिएकी नेपाली केटी बिहे गरेर ल्याएछन्। घरमा ससुरा, जेठाजु जेठानी सबैले अब जे त भैगो, मिलेर बस। मर्दको स्वास्नी कतिकति ? असह्य भएपछि तपाईंलाई खबर गरेकी हुँ। मलाई सहयोग गर्नुस्।’

उनको आवाजमा अत्यास सुनिन्थ्यो। स्थानीय महिला समूहकी अगुवाले उनलाई कानुनको सामान्य जानकारी नहुने कुरै भएन। लोग्नेको बहुविवाहविरुद्ध मुद्दा हालेर मानाचामल लिई सम्बन्ध–विच्छेद गर्न तयार भइन् उनी। त्यसपछि दुई दिनसम्म पनि उनको कुनै फोन नआएपछि आफैंले सम्पर्क गर्दा थाहा लाग्यो– उनले विचार परिवर्तन गरिसकिछन्। घरकाले ‘मिलेर बस्न’ कर गरेको बताइन् उनले। माइतीले पनि मिलेर बस्ने सल्लाह दिएछन्। हरेश खाएको स्वरमा भनिन् उनले, ‘सम्बन्ध–विच्छेदको मुद्दा हालेपछि यहाँ बस्न दिँदैनन्। कहाँ जानु ? आफन्तकहाँ एकदुई हप्ता त राख्लान्, त्यसपछि म कता जानु ? अदालत धाउन र वकिललाई दिने पैसा पनि छैन। मुद्दा फैसला हुन समय लाग्छ भन्छन्। त्यतिन्जेल मैले के खानु ? छोरीको पढाइ बिग्रने भयो। होस् मेरो भाग्य यस्तै रहेछ। सहेरै बस्छु।’

समाज परिवर्तन गर्छु भनी अघि सर्ने अगुवा महिलाले समेत हरेस खाएको सुन्दा चुपचाप आँसु बगाउनुको विकल्प पाइनँ।

उल्लिखित प्रसंग केवल एक प्रतिनिधि घटना हो। महिलाले यस्तैयस्तै समस्यासँग बारम्बार जुध्नुपर्छ र विवाह र जीवनबारे घोत्लिन बाध्य हुनुपर्छ। आखिर कानुनले दिएको सुविधा लिन पनि किन सक्दैनन् महिलाले ? नेपालमा बहुविवाहलाई निषेध गर्ने गरी कानुनी बन्दोबस्तको निर्माण २०११ सालदेखि नै सुरु भएको पाइन्छ। ‘नेपाल विवाह ऐन, २०११’ ले नै बहुविवाहलाई अपराध ठहर गर्दै विवाह गर्नेलाई एक वर्ष कैद र बहुविवाह गराउने पुरोहित एवं सहयोगीलाई जनही दुई सय रुपैयाँ जरिवाना गर्ने बन्दोबस्त गरेको थियो।

मुलुकी ऐन, २०२० ले विवाहसम्बन्धी छुट्टै महलको बन्दोबस्त ग¥यो। त्यसैमा बहुविवाहलाई अपराधसरह नै उल्लेख गरियो। उक्त कानुनी प्रावधान संशोधन हुँदै हाल बहुविवाह गर्नेलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना हुने बन्दोबस्त गरिएको छ। त्यस्तै पीडित महिलाले माना–चामल भराउनेदेखि सम्बन्ध–विच्छेदसम्मको अधिकार पाउन उल्लेख छ। यद्यपि सोही महलमा समेत महिला र पुरुषलाई फरक बन्दोबस्त गरिएको छ। सम्बन्ध–विच्छेद नहुँदै अर्को विवाह गर्ने महिलाको अघिल्लो सम्बन्ध स्वतः विच्छेद हुने प्रावधान छ। तर पुरुषको हकमा त्यस्तो बन्दोबस्त छैन।

जे होस्, कानुनले बहुविवाहलाई अपराधसरह मानेको छ र ‘सौता’ ल्याउने लोग्नेलाई सजायको भागीदार गराउने व्यवस्था गरेको छ। तर किन महिलाहरू त्यो कानुनप्रदत्त सुविधा पनि लिन सकिरहेका छैनन् ? समीक्षक डा. अर्चना थापा पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाले कानुनप्रदत्त सुविधा पनि लिन नसकेको बताउँछिन्। थापा भन्छिन्, ‘पित्तृसत्तात्मक सामाजिक संरचनाले महिला सहनशील हुनुपर्ने मान्यता छ। त्यसमाथि नागरिकहरू कतिको सूचनाको पहुँचमा छन् ? भए पनि महिलालाई सपोर्ट गर्ने सिस्टम छैन। आत्मसुरक्षाको विषय त्यत्तिकै महत्वपूर्ण हुन्छ। यस्तोमा न्याय प्रणालीको ढिलासुस्ती पीडितलाई अर्को थप पीडक बनिदिन्छ।’

महिलाले बहुविवाहविरुद्ध लड्न नसक्नुको मुख्य कारण आर्थिक नै हो। अहिले पनि देशका अधिकांश महिला आत्मनिर्भर छैनन्। ससाना खर्चका लागि पनि महिला लोग्नेकै भर पर्नुपर्ने बाध्यता छ। यसको मुख्य कारण पारिवारिक संरचना हो। अपवादलाई छोड्ने हो भने अधिकांश महिलालाई घरपरिवार र समाजले लोग्नेको कमाइ हुन्जेल बालबच्चा जन्माउने, हुर्काउने र घरायसी कामकाजमा लाग्न उर्दी जारी गर्छ। उमेरको घोडा दौडिरहन्छ तर उनीहरूको आत्मविकास ठप्प हुन्छ। उनीहरू सधैंभरि आश्रित हुन बाध्य हुन्छन्।

अर्कोतर्फ कानुनी झमेला पनि अर्को समस्या हो। कानुनी प्रक्रिया निकै झन्झटिलो छ। अदालतले पैmसला गरेर आफ्नो भागको सम्पत्ति र अन्य अधिकार पाउँदासम्म कहाँ जाने, कहाँ बस्ने, के खाने ? त्यसमाथि लोग्नेकै आर्थिक स्थिति कमजोर छ भने त पाउनु र नपाउनुको कुनै अर्थ छैन। त्यसैले सौता भोगेकी महिलाले ‘मिलेर बस्ने’ सल्लाह पाउँछिन्। मन कँडाउँदै, जिउँदै र मर्दै बाँचिरहन अभिशप्त हुन्छिन्। महिलालाई आर्थिक रूपमा सक्षम नबनाइँदासम्म यो जिउँदै मर्ने सिलसिला चलिरहन्छ।

प्रतिक्रिया दिनुहोस्