
काठमाडौं, २१ चैत
प्रहरी प्रधान कार्यालयले मंगलबारसम्ममा ५७ जना सुरक्षाकर्मी र १७ जना चालक गरी ७४ प्रहरीलाई फिर्ता बोलाएको हो । प्रधानमन्त्रीको निर्देशनमा सोमबारबाट फिर्ता बोलाउन थालिएको छ । पूर्वप्रधानन्यायाधीशदेखि मन्त्री र सांसदहरूले नियमविपरीत लिएका अंगरक्षक र सवारी चालक सुविधा खोसिएका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्यायको सुरक्षामा खटिएका पीएसओलाई फिर्ता बोलाएको छ । यस्तै पूर्वमन्त्रीहरु रमेश लेखक, अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, नवीन्द्रराज जोशी, उमाकान्त चौधरी, चित्रलेखा यादव, नरहरि आचार्य, गणेशमान पुन, विश्वनाथप्रसाद साह, अजयशंकर नायक, उमेश यादव, महेन्द्र पाण्डे, रामजनम चौधरी, दिनेश श्रेष्ठ, प्रेमबहादुर सिंह, इन्द्र बानियाँ लगायतको सुरक्षागार्ड फिर्ता बोलाइएको छ ।
पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वगृहसचिव गोविन्द कुसुम, पूर्वमन्त्रीहरु सुरेन्द्रकुमार कार्की, रिजवान अन्सारी, सांसद अमरेशकुमार सिंह लगायतको सवारी चालक रहेका १७ जनालाई पनि फिर्ता बोलाइएका छन् ।





