
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिडले युभेन्टसलाई ३-० ले पराजित गरेको छ ।
गएराती युभेन्टसको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो लिगमा ३-० को अग्रता लिएको हो ।
रियल म्याड्रिडको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने एक गोल मार्सेलोले गरेका हुन् ।
खेलको तेस्रो मिनेटमा इस्कोको असिस्टमा रोनाल्डोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता लिएको रियलले खेलको ६४औ मिनेटमा रोनाल्डोको सुन्दर गोलले २-० को अग्रता लिएको थियो । रियलका लागि तेस्रो गोल खेलको ७२औ मिनेटमा रोनाल्डोको असिस्टमा मार्सेलोले गरेका थिए ।
खेलको ६६औ मिनेटमा युभेन्टसका अर्जेन्टिनी प्ले मेकर पाउलो डिबालाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड खादै मैदान छोड्दा युभेन्टस १० खेलाडीमा सिमिति भएको थियो । डिबाला च्याम्पियन्स लिगको इतिहासमा युभेन्टसबाट रातो कार्ड खाने २४औ खेलाडी हुन् ।
यो हारसँगै युभेन्टसको आफ्नो घरेलु मैदानमा गत नोभेम्बर देखिको अपराजित यात्रा पनि टुंगिएको छ । त्यस्तै घरेलु मैदानमा रियल म्याड्रिडसँग पनि सन १९६२ पछि पहिलो पटक हार बेहोरेको छ ।
रोनाल्डोले यस खेलमा दुई गोल गर्दै च्याम्पियन्स लिगको इतिहासमा लगातार १० खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले यस सिजनमा सबै प्रतियोगितामा कुल ३९ गोल गरेका छन्, जन युरोपका प्रमुख प्रतियोगितामा कुनै पनि खेलाडीले गरेको धेरै गोल हो । त्यस्तै च्याम्पियन्स लिगको क्वाटरफाइनलहरुमा मात्र रोनाल्डो एक्लैले २२ गोल गरेका छन् जुन युभेन्टस टिमले अहिलेसम्म केबल २१ गोल गरेको छ । यस सिजनमा रोनाल्डोले च्याम्पियन्स लिगमा १० खेलमा १४ गोल गरेका छन् भने तीन गोल असिस्ट गरेका छन् ।
क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १२ मा रियल म्याड्रिडको घरेलु मैदानमा हुने छ ।





