
काठमाडौं – ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री रामबहादुर थापाले जाति, धर्म र क्षेत्रका नाममा नेपालमा द्वन्द्व निम्तिन सक्ने संकेत गर्दै धर्म प्रचारसम्बन्धी गतिविधि र विखण्डनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुने संकेत गरेका छन्। ‘स्वतन्त्र मधेसका नाममा सिके राउत र क्रिस्यानिटीका माध्यमबाट मुलुकलाई द्वन्द्वमा धकेल्ने प्रयास भइरहेको गृहमन्त्री थापाले भने। उनले मुलुकको राष्ट्रिय एकता मजबुत बनाउन नयाँ रणनीति तय गर्नुपर्ने बताए।
केही दिनअघि बुझाइएको गृह अध्यागमन सुधार प्रतिवेदनमा विदेशबाट नेपालमा आउनेप्रति निगरानी राख्ने प्रणालीको विकास गर्नुपर्ने सुझाव दिइएको छ। मन्त्रालय स्रोतका अनुसार नेपालमा आएर गैरकानुनी रुपमा धर्म प्रचार गर्नेहरुलाई निगरानी गर्न सकियोस् र नेपालमा कुनै पनि मुलुकका नागरिक आएर गैरकानुनी गतिविधि नगरून् भनेर यस्तो गर्न लागिएको हो।
नेपालमा कुन देशका नागरिक आएर यहाँ के गरिरहेका छन् भन्ने जानकारी सुरक्षा निकायलाई हुँदैन। जसले गर्दा विभिन्न बहानामा आउने विदेशीले नेपालमा धर्म प्रचारलगायतका अन्य गैरकानुनी तथा आपराधिक गतिविधि गरिरहेको गृह मन्त्रालय स्रोत बताउँछ। प्रविधिमार्फत यस्ता गतिविधि नियन्त्रण तथा व्यवस्थापनका लागि सुधार गर्न लागिएको छ।
गृहमन्त्री निकट स्रोतका अनुसार उनले मन्त्रालयको जिम्मेवारी सम्हालेयता धर्म प्रचारका नाममा भइरहेका गतिविधि र मुलुकका विभिन्न भूभागमा भइरहेका विखण्डनकारी गतिविधि नजिकबाट हेरिरहेका छन्। ‘नेपालको राष्ट्रिय एकतामा धर्म प्रचारका नाममा भइरहेका गतिविधि तथा तराईमा सिके राउत प्रवृत्ति बाधक बनिरहेको मन्त्रीज्यूको बुझाइ छ। यी दुवै प्रवृत्तिप्रति उहाँ कठोर ढंगले प्रस्तुत हुने मनिस्थितिमा हुनुहुन्छ’ उनी निकट स्रोतले भन्यो।





