
मोरङ, १८ चैत
नेपाली कम्युनिस्ट आन्दोलनका नविन बिचारक एमालेका तात्कालिन महासचिव जननेता मदनकुमार भण्डारीको सम्पुर्ण गतिबिधिलाई समेटदै उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण भएको छ । जननेता भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर संग्राहलय निर्माण गरिएको हो ।
पुरातत्व विभागको आर्थिक सहयोगमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले निर्माण गरेको संग्रहालयको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । मदनपत्नीसमेत रहनु भएकी राष्ट्रपति भण्डारीले उदघाटन गरेसँगै आजदेखि सर्वसाधारणका लागि संग्राहलय खुला भएको छ । दश वर्षअघि ‘मदन भण्डारी स्मृति कक्ष’ बाट निर्माण शुरु गरिएको संग्रहालय तीन करोडको लागतमा तयार भएको हो । भूकम्प प्रतिरोधात्मक क्षमताको तीनतले भवनमा १६ ओटा कक्ष रहेका छन् ।
संग्रहालय प्रवेशद्वारमा नेता भण्डारीको तस्वीर र उहाँको जन्मस्थल ताप्लेजुङको ढुंगेसाँघु गाउँदेखि अन्त्यमा चितवनको दासढुंगामा उहाँ सवार दुर्घटनामा परेको बा अ च ८७९३ नंको जीप राखिएको छ । संग्रहालय प्रवेश गरिसकेपछि पश्चिमपट्टिको भित्तामा भण्डारीको व्यक्तित्व झल्काउने दश मिनेटको श्रव्यदृष्य प्रदर्शन गरिएको छ । जस्मा जननेता भण्डारी पहिलो पटक सात सदस्यीय नेपाली जनवादी सांस्कृतिक संघमा आबद्ध भएर राजनीतिक र सामाजिक परिवर्तनको आन्दोलनमा होमिएको देखाइएको छ ।
विसं २०१७ को फौजी काण्ड, जननिर्वचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको गिरफ्तारी, २०१८ सालमा भएको नेत्र गुरागाईंको हत्या, २०२१ सालमा भएको क्रान्ति योद्धा दुर्गानन्द झाको हत्या, २०२८ सालमा भएको झापा विद्रोह, त्यसपछि उत्पन्न भएको क्रान्तिलाई जननेता भण्डारीले सूक्ष्म रुपले अध्ययन गरी नेपाली कम्युनिष्ट आन्दोलनको राजनीतिक दिशा निर्धारित गर्नुभएको संग्रहालयमा चित्रण गरिएको छ । संग्रहालयमा पार्टी एकीकरण कक्षका दुई वटा सिसाका सोकेस छन् जसमा विभिन्न कम्युनिष्ट समूहको एकीकरण प्रक्रिया र मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका) मा नेकपा माले गठनसँग सम्बन्धित श्रव्यदृष्य सामग्रीसमेत प्रदर्शन गरिएको छ ।
संग्रहालयमा जनवर्गीय संगठनको पुनर्गठन तथा निर्माण एवं विभिन्न आन्दोलनको परिचालनदेखि लिएर पञ्चायतमा भएको हस्तक्षेप तथा यसका उपलब्धिसँग सम्बन्धित सामग्रीलाई राखिएको छ । संग्रहालयमा सिरहा जिल्लाको विष्णुपुरकट्टीमा २०४६ भदौ ९–१४ मा भएको नेकपा (माले)को चौथो राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित विवरण राखिएको छ जसले भण्डारीलाई पार्टीको महासचिवमा सर्वसम्मतिले चयन गरेको थियो । दोस्रो तलामा सोकेसभित्र जननेता भण्डारीको निजी प्रयोगका घडी, टोपी, चप्पल, लुंँगी, ज्याकेट, मोजा, जुत्ता, रेडियो, भाँडावर्तन, औजार, चश्मा, डायरी, कलम, बुबाआमालाई लेखिएको चिठ्ठी आदि राखिएको छ ।
संग्रहालयमा मोरङको इटहरास्थित घरको प्रतिकृतिसहित जननेता भण्डारीले प्रयोग गरेको साइकल राखिएको छ । संग्रहालयमा भण्डारीको काठमाडौँ–नक्सालस्थित डेरा र अध्ययन कक्षको पनि प्रतिकृति बनाइएको छ जसले नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज हुनेछ । संग्रहालयमा नेता भण्डारीले त्यसबेला प्रतिनिधिसभामा खेल्नुभएको भूमिकासँग सम्बन्धित सामग्रीको प्रस्तुतीकरण तथा नेपालसँग भएका विभिन्न असमान सन्धिसम्झौतासँग सम्बन्धित रहेर राष्ट्रियताका विषयमा उहाँले लिएको अडानसम्बन्धी सामग्री राखिएका छन् ।
संग्रहालयमा दासढुंगा दुर्घटनापूर्व पोखराको सभागृह, दासढुंगाको गाडी गुड्ने सडक तथा गाडीको चित्रांकन, सडकदेखि त्रिशूली नदीसम्मको भिरालोमा गाडी दुर्घटना भएको ठाउँ, त्रिशूलीको भेलमाथि हेलिकप्टरसहितको टोलीले नेता भण्डारीको खोजी, दुर्घटनाग्रस्त गाडी त्रिशूलीबाट क्रेनको सहाराले निकाल्दै गरेको अवस्था, नेता जीवराज आश्रितको शवको अवस्था, चितवनको गाँजीपुरस्थित त्रिशूलीको बगरमा जननेता भण्डारीको शव, त्यसताका रेडियो नेपाल र नेपाल टेलिभिजनको घटनाबारेको समाचारको अंश, दशरंथ रंगशालाको श्रद्धाञ्जलि सभादेखि आर्यघाटसम्मको शवयात्राका तस्वीर राखिएको छ ।
संग्रहालयको सो कक्षमा मधुर आवाजमा शोक धून पनि सुन्न सकिनेछ । संग्रहालयमा नेता भण्डारीको रहस्यमय दुर्घटनापछि बनेका आयोग, तिनका प्रतिवेदन र जनप्रतिक्रियालाई राखिएको छ । सबै आयोगसँग सम्बन्धित पदाधिकारी तथा सदस्यसमेतको तस्वीरसहितका प्रतिवेदन रहेका छन् । संग्रहालयको दोस्रो तलामा १४० जनासम्म अटाउन सकिने सभाकक्ष छ । त्यहाँ मल्टिमिडिया प्रोजेक्टरबाट जननेता भण्डारीसम्बन्धी वृत्तचित्र प्रदर्शनका साथै जनताको बहुदलीय जनवाद ९जवज०को पाठशाला राखिनेछ ।
सभाकष नजिकै अर्को कक्षमा पुस्तकालय रहनेछ । उक्त पुस्तकालयमा नेता भण्डारीका सम्बन्धमा विस्तृत रुपमा अध्ययन गर्न चाहनेले विभिन्न अध्ययन समग्री प्राप्त गर्न सक्नेछन् र त्यसलाई इ–लाइब्रेरीका रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको छ । संग्रहालयको अवलोकन गरेपछि भुईं तल्ला ओर्लिएपछि दासढुंगा दुर्घटना हुँदा नेता भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख आश्रित चढेको दुर्घटनाग्रस्त जीप राखिएको छ ।
दुई बिघा क्षेत्रफलमा रहेको प्रतिष्ठान हाताभित्र नेता भण्डारीको पूर्णकदको शालिक, पुष्पबाटिका, बालोद्यान पनि निर्माण गरिएको छ । नेता भण्डारीको जीवनका विषयमा जो कोहीलाई पनि बुझ्न सहज होस् भन्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले बताउनुभयो । – रासस





