स्पेनिस ला लिगा : पाल्मासविरुद्ध रियल म्याड्रिड ३-० ले विजयी



काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । गएराती भएको लास पाल्मासविरुद्धको खेलमा म्याड्रिडले ३-० को जित हासिल गरेको छ ।

रियल म्याड्रिडको जितमा ग्यारेथ बेलले २ र करीम बेन्जमाले एक गोल गरेका थिए ।

खेलको २६औं मिनेटमा लुका मोड्रिचको पासमा बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २-० को अग्रता दिलाए । त्यस्तै खेलको ५१औं मिनेटमा रियलले पाएको अर्को पेनाल्टीलाई ग्यारेथ बेलले गोल गर्दै रियललाई ३-० को जित दिलाए ।

यस खेलमा जिनेदिन जिदानले क्रिस्टियानो रोनाल्डो, टोनी क्रुज र मार्सेलोलाई आराम दिएका थिए । यस खेलमा करीम बेन्जमाले रियल म्याड्रिडका लागि आफ्नो ४ सयौ खेलमा गोल गरेका छन् । यस सिजनमा बेन्जमाले रियलका लागि सबै प्रतिष्पर्धामा १० गोल गरेका छन् ।

यस जितसँगै रियल म्याड्रिड ३० खेलमा ६३ अंकसहित लिगको तेस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १३ अंकले पछाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्