
काठमाडौँ -चर्चित अन्तर्राष्ट्रिय डान्सिङ टीभी रियालिटी शो बुगीवुगी सुरु भएको छ। एपीवान टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमै पहिलो पटक नेपालमा सञ्चालनमा ल्याइएको सोलाई अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत संचालनमा ल्याइएको छ । उक्त रियालिटि शोका जजहरूमा नायक दिलीप रायमाझी, नायिका प्रिंयका कार्की र अहिलेका चर्चित कोरियोग्राफर कविराज गहतराज रहेका छन्। दर्जनौँ फिल्ममा काम गरेका रायमाझी नृत्यकलामा पोख्त मानिन्छन्।
प्रियंका कार्की नेपाली मोडल तथा अभिनेत्री हुन्। ‘थ्री लभर्स’ बाट फिल्म क्षेत्रमा डेब्यु गरेकी उनी अहिलेकी जल्दोबल्दो अभिनेत्री हुन् र उनको डिमान्ड पनि निकै उच्च छ। त्यसैगरी कोरियोग्राफर कविराज गहतराज पनि अहिलेका निकै चर्चित कोरियोग्राफर हुन् । हिजोबाट शुरु भएको बुगीवुुगीको पहिलो शृङ्खलामा शीर्ष १८ प्रतिस्पर्धीहरूले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । सोही क्रममा निर्णयक दिलिप रायमाझीले पनि आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।





