नेता किम जोङ उन किन रेलबाट मात्रै यात्रा गर्छन् ? कारण यस्ता छन्



काठमाडौं, १६ चैत

थुप्रै आशंका र अनुमानपछि अन्ततः उत्तर कोरियाली नेता किम जोङ उन चीन आएको आधिकारिक पुष्टि भयो । चीन र उत्तर कोरिया दुवैले यसको आधिकारिक पुष्टि गरेका छन् । सन् २०११ पछि किम जोङ उनको यो पहिलो विदेश भ्रमण भएको बताइएको छ ।

आधिकारिक पुष्टि हुनुभन्दा पहिले नै एउटा रेलको हरियो डिब्बामा यात्रा गर्दै किम जोङ उन चीन भ्रमणमा आएको अड्कलबाजी गरिएको थियो ।

अहिले प्रायः विश्वका सबै ठूला नेता समय बचाउनका लागि हवाईजहाज तथा हेलिकप्टरमा यात्रा गर्दछन् । आफूलाई आधुनिकीकरणतर्फ बढाइरहेको बताउने उत्तर कोरियाका नेता भने रेलमै यात्रा गर्दछन् ।

हवाई यात्राबाट किन डराउँछन् ?

किम जोङ उनका बुवा किम जोङ इल हवाईजहाजमा यात्रा गराउन मन पराउँदैनथे । सन् २००२ मा उनी यही रेलमै रुस भ्रमण गएका थिए । यो रेलमा विश्वकै सबैभन्दा महंगो वाइन तथा बारबेक्यू हुने गर्दथ्यो । त्यस्तै रेलमै पार्टी पनि हुने गरेको बताइन्छ । किम जोङ उनले यही रेलबाट १०–१२ भ्रमण गरेका छन् जसमध्ये धैरै चीन भ्रमण रहेको छ ।

बुवा किम जोङले पनि धेरै जसो भ्रमण रेलबाट नै गर्दथे । लामो दूरीका भ्रमण पनि उनी रेलबाटै गर्दथे । यहाँसम्म कि सन् १९८४ मा यही रेलमा उनी पूर्वी यूरोप गएका थिए । उनको निधन पनि हृदयघातका कारण रेलमै भएको थियो ।

तर किम जोङ उन र उनका बुवाले यात्रा गर्ने गरेको यो रेल भने साधारण नभएको बताइन्छ ।

न्यूयोर्क टाइम्सका अनुसार बेइजिङमा देखिएको यो रेलमा २१ वटा डिब्बा रहेका छन् । यसका सबै डिब्बा हरियो रंगका छन् । रेलका झ्यालमा ‘टिन्टेड ग्लास’ लगाइएको छ ताकि बाहिरबाट भित्र को छ भन्ने कुरा थाहा नहोस् ।

यो रेलका बारेमा जति पनि जानकारी सार्वजनिक भएको छ, यसमा सवार अधिकारीको बयान तथा अनुसन्धान एजेन्सी तथा मिडिया रिपोर्टमा आधारित छ ।

दक्षिण कोरियाली मिडियाले सन् २००९ मा प्रकाशित गरेको एउटा रिपोर्ट अनुसार किम जोङ उनको उच्च सुरक्षाका लागि ९० वटा डिब्बासहितको रेल तयार गरिएको थियो ।

समाचारका अनुसार किम जोङ उनका बुवाको भ्रमणमा तीन वटा रेल रहेका हुन्थे । सबैभन्दा अगाडि एडभान्स्ड सेक्य्ुरिटीसहितको रेल हुन्थ्यो, त्यसपछि किम जोङ इलको रेल, त्यसपछि अतिरिक्त बडीगार्ड तथा सप्लाई हुने गर्दथ्यो ।

सुरक्षाका लागि बुलेटप्रुफ कोच

रेलका सबै डिब्बा बुलेटप्रुफ छन् । सामान्य रेलभन्दा यसको तौल पनि धेरै हुने भएकाले यसको गति पनि कम हुने गर्दछ । यसको गति केवल ३७ माइल प्रतिघण्टा हुने बताइएको छ ।

सन् २००९ को एउटा रिपोर्टका अनुसार किम जोङ इलको भ्रमणमा सय जना सुरक्षा अधिकारी अत्याधुनिक सुरक्षासहितको रेलमा हुन्थे । उनीहरुको काम स्टेसन चेक गर्ने तथा सुरक्षा व्यवस्था प्रदान गर्ने हुन्थ्यो ।

अझ रेलको माथिबाट हेलिकप्टर तथा एयरफोर्सले सुरक्षा प्रदान गर्दथ्यो । अझ अचम्म पार्ने कुरा त के छ भने उत्तर कोरियामा किम जोङको व्यक्तिगत प्रयोगका लागि २२ वटा रेल्वे स्टेसन बनाइएको छ ।

उत्तर कोरियाको सरकारी मिडियाले कहिलेकाहिँ रेलमा सवार गरेका आफ्ना ठूला नेताका तस्बिर सार्वजनिक गर्ने गरेको छ ।

सन् २०१५ मा यही रेलको एउटा डिब्बामा लामो सेतो टेबलमा किम जोङ उन बसेको तस्बिर सार्वजनिक भएको थियो । किम जोङ उन बसेको रेलको डिब्बा कन्फ्रेन्स रुमजस्तै देखिन्थ्यो । सन् २०११ मा जारी यस्तै एउटा भिडियोमा किम जोङ उनका बुवा पनि यसरी नै रेलमा बसेका देखिन्थे । किम जोङ उनका बारेमा १३ नोभेम्बर २०१५ मा बेलायती समाचारपत्र द गार्जियनमा समाचार छापिएको थियो ।

किम साँच्चै डराउँछन् त ?

के किम जोङ उन आफ्नो सुरक्षादेखि साँच्चै डराउँछन् तरु उत्तर कोरियामा सन् १९९७ देखि १९९९ सम्म भारतीय राजदूत रहेका जगजीत सिंह सपरा भन्छन्, ‘डर त छ, किम मात्रै होइन, उनका पूर्वज पनि सुरक्षालाई निकै सतर्क रहन्थे । किम जोङ उनका बुवा किम जोङ इल पनि मस्को र बेइजिङ भ्रमण जाँदा रेलमा गएका थिए ।’

सपरा भन्छन्, ‘कुनै पनि देशको शासक हवाईजहाजको ठाउँमा रेलमा विदेश भ्रमण गर्छ भने यसैबाट हामी अनुमान लागउन सक्छौँ कि उ आफ्नो सुरक्षालाई लिएर कति सतर्क छन् भन्ने । उत्तर कोरियाको हवाई सम्पर्क केवल चीनसँग मात्रै रहेको छ । त्यो पनि हप्तामा दुई दिन बेइजिङबाट प्योङयाङ उडान हुने गर्दछ । यदि तपाईँ उत्तर कोरिया जानु छ भने पहिले बेइजिङ जानु आवश्यक हुन्छ ।’

उत्तर कोरियाका लागि पूर्व भारतीय राजदूत सपराका अनुसार किम जोङ उनका हजुरबुवा केवल एक पटक हवाईजहाजमा इन्डोनेसिया गएका थिए । सपरा भन्छन्, ‘पूरै देश अलर्टमा रहन्छ । उत्तर कोरियाको कसैसँग पनि शान्ति सम्झौता छैन । यस्तोमा उनीहरु आफ्नो सुरक्षालाई लिएर डराउँछन् नै ।’

प्रतिक्रिया दिनुहोस्