नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने धुर्मसको घोषणा



काठमाडौँ, १६ चैत

भूकम्पपछि सामाजिक काम गरेर निकै चर्चा र प्रशंसा बटुलेका चर्चित कलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्।

सबैको इच्छा र चाहना बमोजिम खेलाडीहरुको मनोबल उच्च बनाउन आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन गर्न लागेको धुर्मसले घोषणा गरेका छन् ।

उनको घोषणा छ -‘नेपालको क्रिकेटले अन्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र, यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यही समितिको रोहवरमा इन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ ।’

उनले क्रिकेट रंगशाला बनाउन सरकारले पनि आफूहरुलाई पूर्णरुपमा सहयोग गर्ने आशा राख्दै भनेका छन् – ‘सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौँ र हाम्रो लक्ष्य, उद्देश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो। र यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग अनि समन्वय गर्ने भन्नेमा हामी विश्वस्त छौँ।’

धुर्मुसले भूकम्पपछि ४ वटा नमुना बस्ती निर्माण गरी सयौँलाई बासको व्यवस्था गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्