शेयर बजार ओरालो लाग्दा काँग्रेसलाई चिन्ता



काठमाडौँ, १५ चैत

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ ।

वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला शेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गर्नुभएको थियो ।

यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि शेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राख्नुभएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सक्नुभएको छ । संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने उहाँले जानकारी दिनुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्