
राप्ती–सोनारी गाउँपालिका–१, कुसुमका सुरेश कुमाल खुट्टाको सहायताले एसइई परीक्षा दिइरहेका छन् । दुवै हात नभएका कुमालले बुधबार खुट्टाको सहायताले लेखेर सामाजिक शिक्षाको परीक्षा दिए ।
सामान्य विद्यार्थीभन्दा उनले परीक्षामा एक घन्टा बढी समय पाएका छन् । खुट्टाले लेख्दा ढिलो हुने भएकाले समय अपुग भएको उनले बताए ।
‘परीक्षा सकेर सबैजना घर पुग्दासमेत लेखेर भ्याइँदैन,’ उनले भने । राप्ती–सोनारी गाउँपालिका–८, पेरानीस्थित शिवशक्ति मावि केन्द्रबाट एसइई दिइरहेका कुमालले परीक्षा दिएका विषय सन्तोषजनक भएको बताए । उनले अहिलेसम्म सबैभन्दा राम्रो अंग्रेजी विषयको परीक्षा भएको बताए । ‘अंग्रेजी पढ्न र बुझ्न सजिलो लागे पनि लेख्न गाह्रो लाग्छ, तर सबैभन्दा राम्रो अंग्रेजी विषयको परीक्षा भएको छ,’ उनले भने ।
गणित विषय सजिलो लागे पनि जमेट्री गणित र बिज गणितको हिसाब लेख्न समस्या हुने गरेको उनले बताए । ‘चित्र बनाउन र घुमाएर लेख्नुपर्ने अक्षर लेख्न गाह्रो हुन्छ,’ सुरेश कुमालले भने । खुट्टाले लेखेर परीक्षा दिए पनि अहिलेसम्म दिएका विषयका परीक्षा सन्तोषजनक भएको सुरेशले बताए । उनले सबैभन्दा धेरै अंक अंग्रेजी, गणित र विज्ञानमा आउने अनुमान लगाए । ‘एसइईमा बी–प्लस श्रेणीमा उत्तीर्ण हुन्छु भन्नेमा म ढुक्क छु,’ सुरेशले भने ।





