ओली र प्रचण्डविरुद्ध विप्लवको १५ दिने ‘वारेन्ट’



काठमाडौं, १४ चैत

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ ।

एमाले अध्यक्ष समेत रहेका ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको जानकारी गराउँदै विप्लव नेतृत्वको पार्टीको रोल्पामा रहेको केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो । उक्त वारेन्ट केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट जारी भएको छ ।

मंगलबार सार्वजनिक भएको वारेन्टपत्रमा सार्वजनिक स्थानमा टाँस भएको मितिले १५ दिनभित्र केन्द्रीय जनअदालत रोल्पामा उपस्थित हुनका लागि सूचित गरिएकाे छ । तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने कुराको जानकारी समेत गराइएको छ ।

वारेन्टपत्रमा प्रचण्ड र ओलीविरुद्ध परेको मुद्दाको जानकारी पनि गराइएको छ । दुबै नेताविरुद्ध फरक-फरक मुद्दा परेको जनअदालतले जनाएको छ । वारेन्ट पत्रमा अनुसार प्रधानमन्त्री ओलीले २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ एवं पदम राई र पार्टी सम्बद्ध थुप्रै युवालाई विराटनगरमा गिरफ्तार गरी, झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको भन्दै त्यसका विरुद्धमा मुद्दा परेको वारेन्टमा उल्लेख छ ।

सँगै प्रचण्डका विरुद्ध जारी गरिएको वारेन्ट पत्रमा महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको उल्लेख छ ।

सँगै माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहितविरुद्ध कार्य गरेको, कथित स्थानीय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह सन्राइज’समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको । २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको भन्दै त्यसका विरुद्ध मुद्दा परेको बताइएको छ ।

ओलीका नामको वारेन्ट

प्रतिक्रिया दिनुहोस्